वाणिज्य बैंकहरूको नाफा ४३.६८ प्रतिशत वृद्धि
काठमाडौँ। आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अन्त्यसम्ममा नेपालका वाणिज्य बैंकहरूले आफ्नो खुद नाफामा उल्लेख्य वृद्धि गरेका छन्।
प्रकाशित तथ्याङ्क अनुसार, बैंकहरूको समग्र खुद नाफा गत वर्षको तुलनामा ४३.६८ प्रतिशतले बढेर ७१ अर्ब १८ करोड ४४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूले ४९ अर्ब ५४ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए।
यो वर्ष २० मध्ये १६ वटा बैंकको नाफा बढेको छ । बाँकी चार वटा बैंकको नाफा भने घटेको देखिन्छ । यसरी नाफा घट्ने बैंकहरुमा नेपाल एसबीआई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनआईसी एसिया बैंक र सिटिजन्स बैंक रहेका छन् ।
विगत केही वर्षमा नेपालको अर्थतन्त्रमा मन्दीमा रहेको चर्चा हुँदै आएको थियो । खासगरी आयात एवं राजश्वमा आएको गिरावटले व्यापार, रोजगारीदेखि सार्वजनिक वित्तमा समेत असर गर्दै आएको थियो । तर, सरकारले भने अर्थतन्त्रमा क्रमिक रूपमा सुधार आएको दाबी गर्दै आएको थियो । सुधारको यो सङ्केत यस पटक बैंकको वित्तीय विवरण देखिएको छ ।
