बिहीबार २५ मंसिर, २०८२

बन्द हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम तलब दिने

बन्द हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम तलब दिने

काठमाडौं । बौद्धस्थित हायात रिजेन्सी होटल र कर्मचारीबीच होटल पुनर्निर्माण अवधिभर श्रमिकको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ । २४ भदौमा जेनजी आन्दोलनका क्रममा होटलमा तोडफोड, आगजनी र लुटपाट भएपछि अहिले बन्द छ ।

होटल पुनर्निर्माण गर्न कम्तीमा एक वर्ष लाग्ने भन्दै होटल व्यवस्थापनले कर्मचारीका प्रतिनिधिसँग छलफल गरी सहमति गरेको हो । ‘आन्दोलनका क्रममा भएको तोडफोडका कारण ठूलो आर्थिक तथा भौतिक क्षति पुगेको छ। पूर्णरूपमा मर्मत सम्भार नगरी होटल सञ्चालन हुने अवस्था छैन’ होटल व्यवस्थापनले एक विज्ञप्तिमार्फत भनेको छ ।

सहमतिअनुसार होटलले कर्मचारीलाई एक वर्षसम्म नेपाल सरकारले निर्धारण गरेको न्यूनतम आधारभूत पारिश्रमिक उपलब्ध गराउनेछ । साथै सामाजिक सुरक्षा कोषमा पनि सोही अनुपातमा योगदान गर्नेछ । होटल बन्द अवस्थामा पनि कर्मचारीको रोजीरोटी तथा रोजगारीको सुरक्षा हुने व्यवस्थापनले जनाएको छ ।

मर्मत–सम्भार पूरा भएपछि सहमतिमा बस्ने कर्मचारीलाई पुनः रोजगारीमा फर्काइने होटलले जनाएको छ । सहमतिमा अधिकांश कर्मचारी सकारात्मक रहेको व्यवस्थापकको दाबी छ । सहमतिमा नआउने कर्मचारीको हकमा भने श्रमिक कटौतीको प्रक्रिया अपनाइने होटलले बताएको छ ।