उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्न वाणिज्य विभागको प्रस्ताव आह्वान
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्न इच्छुक उपभोक्तावादी संस्थाबाट प्रस्ताव आह्वान गरेको छ ।
विभागले उपभोक्ता अधिकार र हित संरक्षण सम्बन्धी कार्यक्रम देशभरिका विद्यालय तथा कलेजमा पुर्याउने लक्ष्य राखेको छ ।
विभागद्वारा स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०८२/८३ मा विभिन्न जिल्लास्थित विद्यालय र कलेजमा उपभोक्ता जागरण तथा हित संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन गरिने छ ।
यसका लागि नेपाल सरकारबाट इजाजत प्राप्त उपभोक्तावादी संस्थालाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र विभागमा प्रस्ताव सहित आवेदन पेस गर्न आह्वान गरिएको छ ।
यस पहलले उपभोक्ता शिक्षा विस्तार गरी उनीहरूलाई आफ्ना अधिकारबारे सचेत गराउने विश्वास विभागले लिएको छ ।
प्रस्ताव पेस गर्ने संस्थाले ६ वटा सर्त पालना गर्नुपर्ने छ । यी सर्तमा विभागले तोकेको विषयवस्तुमा आधारित भई तयार पारेको तालिम सामग्री प्रस्तावसाथ पेस गर्नुपर्ने छ । साथै, कार्यक्रम सञ्चालनमा न्यूनतम २० प्रतिशत लागत सहभागिता जनाउने प्रतिस्पर्धी संस्थालाई प्राथमिकता दिइने छ ।
भौगोलिक क्षेत्रका सन्दर्भमा प्रदेश १, बागमती र लुम्बिनीका कम्तीमा २/२ जिल्लामा न्यूनतम २/२ वटा माध्यमिक विद्यालय वा कलेजमा कार्यक्रम सञ्चालन गर्नुपर्ने छ ।
