बिहीबार २५ मंसिर, २०८२

२१२ जना किसानबाट १.४४ करोडको धान खरिद, प्रतिक्विन्टल ३ हजार ४६३ रूपैयाँ

२१२ जना किसानबाट १.४४ करोडको धान खरिद, प्रतिक्विन्टल ३ हजार ४६३ रूपैयाँ

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड तुलसीपुरले यस वर्ष दाङको देउखुरी क्षेत्रका तीन पालिकाका २१२ जना किसानले उत्पादन गरेको ५ हजार क्विन्टल धान खरिद गरेको छ । लमही, गढवा र राप्ती गाउँपालिकाका किसानले उत्पादन गरेको धान खरिद गरिएको कार्यालय प्रमुख तुलमाया लोवाले जानकारी दिए । 

उक्त धान १ करोड ४४ लाख ८९ हजार ८०० रुपैयाँमा खरिद गरिएको उनले बताए । गढवाबाट २ हजार क्विन्टल, लमही र राप्ती गाउँपालिकाबाट१ हजार ५०० क्विन्टल धान खरिद गर्ने कार्यालय र पालिकाबीच भएको सहमतिअनुसार धान खरिद गरिएको कार्यालयले जनाएको छ । 

सरकारले निर्धारण गरेको धानको मूल्यअनुसार प्रतिक्विन्टल ३ हजार ४६३ रूपैयाँका दरले मोटो धान किसानबाट खरिद गरिएको कार्यालयका सूचना अधिकारी शक्तिराम डाँगीले जानकारी दिए । उनका अनुसार १ जना कृषकबाट अधिकतम ४० क्विन्टल धान खरिद गर्ने भनिए तापनि धेरै किसानलाई समेट्ने गरी १५ देखि २० क्विन्टल प्रतिकिसानका दरले धान खरिद गरिएको हो ।

गत वर्ष खाद्यले जिल्लाबाट ८ हजार क्विन्टल धान खरिद गर्ने कोटा पाएको थियो । तर, गत वर्ष लक्ष्यअनुसार धान खरिद हुन नसक्दा यस वर्ष केन्द्रबाट धान खरिदको कोटा घटेको छ । 

यसैबीच, दाङमा यस वर्ष १ लाख ८६ हजार ५३ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष ३.०६२ प्रतिशत बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछानेले जानकारी दिए ।