बिहीबार २५ मंसिर, २०८२

पुस १ गतेदेखि बाघ गणना गरिँदै

पुस १ गतेदेखि बाघ गणना गरिँदै

चितवन । अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ ।
.
तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार पुस १ र २ गते गणनामा सहभागीलाई तालिम दिइदै छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंम सेवी, विद्यार्थी र संरक्षणका साझेदार तालिममा सहभागी हुँदैछन् । करिब एक सय ५० जना तालिम लिएर गणनामा खटिने उनले बताए । 

पुस ३ गते तालिम लिएका गणनाका लागि कार्यक्षेत्रमा परिचालन हुनेछन् । मगरका अनुसार दुई निकुञ्जमा नौ सय ग्रिड बनाइएको छ । यसको अर्थ दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गरिने छ । गणनाका क्रममा दुई निकुञ्जलाई तीन भागमा बाँडेर गणना गरिने छ । हरेक भागमा २० दिन क्यामेरा राखिने छ । एक भागमा ३०० ग्रिड हुनेछन् । एउटा ग्रिडमा २० दिन एउटा क्यामेरा राखिने छ । ग्रिडहरुकोबीच भागपर्ने ठाउँमा गणना गर्ने प्राविधिक क्याम्प खडा गरेर बस्ने छन् ।

उनीहरुले भूगोल अनुसार आठदेखि बाह्र सम्मको ग्रिडमा राखिएको क्यामेरा दैनिक अनुगमन गर्ने उनले जानकारी दिए । ग्रिडबाट क्यामेरा निकालेपछि अध्ययन थालिने छ । बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेरा राखिने छ । ती क्यामेराले बाघको फोटो खिच्ने गर्दछ । बाघको फोटो हेरेर तिनीहरुको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उनले जानकारी दिए ।

हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन् । पहिलो कम्प्लेक्स यो हो भने दोस्रो कम्प्लेक्स बाँके र बर्दीया राष्ट्रिय निकुञ्जलाई बनाइएको छ । त्यहाँभित्र पनि तीन वटा व्लक हुने छन् । तेस्रो कम्प्लेक्स शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझण्डी हुने छ । यो एउटै व्लक बनाइने छ ।

यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा एक सय २८, बर्दिया निकुञ्जमा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएको थियो । बाघ गणना सम्पन्न भएपछि गैँडा गणना गर्ने तयारी छ । गतवर्ष गैँडा गणना गर्ने कार्यक्रम बजेट अभावका कारण रोकिएको थियो ।

हरेक चार/चारवर्षमा गैँडा गणना गरिँदै आएको थियो । गतवर्ष गर्न नसकिएको गैँडा गणना यसवर्ष फरक विधिबाट गर्ने तयारी निकुञ्ज विभागको रहेको छ ।