बीमा क्षेत्रको शेयर लगानी : जीवन बीमा कम्पनीहरुको लगानी ५१% ले बढ्यो
काठमाडौं । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले पुँजी बजारमा लगानीको दायरा व्यापक रुपले बढाएका छन् । बीमा कम्पनीहरुले दोस्रो बजारमा सूचीकृत विभिन्न सेक्टरका कम्पनीहरुको शेयरमूल्य खरिद गर्दै लगानीको दायरा विस्तार गरेका हुन् ।
नेपालमा सञ्चालन रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अवधिमा ३७ अर्ब ७१ करोड चार लाख रुपैयाँ बराबरको शेयर खरिद गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार बीमा कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१.६६ प्रतिशतले शेयर बजारमा लगानीको दायरा बढाएका हुन् । कम्पनीहरुले गत आवको असोज मसान्तसम्मको अवधिमा २४ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ बराबरको लगानी पुँजी बजारमा गरेका थिए ।
समीक्षा अवधिमा हिमालयन लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सले सूचीकृत कम्पनीहरुको साधारण शेयरमा सबैभन्दा बढी लगानी गरेका छन् । साथै, गत आर्थिक वर्षको तुलनामा शेयर बजारमा लगानीको दायरा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक बढाउन सफल भएका छन् ।
हिमालयन लाइफ इन्स्योरेन्सले दोस्रो बजारमा सूचीकृत विभिन्न कम्पनीहरुको साधारण शेयरमा ११ अर्ब ३९ करोड ८४ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीले शेयर बजारमा लगानीको दायरा ६१.४५ प्रतिशतले बृद्धि गरेको छ । बजारको अनुकुलतामा कम्पनीले विभिन्न सेक्टरका उच्च प्रतिफल दिने कम्पनीहरुको शेयर खरिद गर्दै कम्पनीको लगानीको दायरा बृद्धि गरेको छ ।
साथै, लगानी विविधिकरणको सिद्धान्त अबलम्बन गरेको नेपाल लाइफ इन्स्योरेन्सले ६ अर्ब ३३ करोड ३८ लाख रुपैयाँको सूचीकृत कम्पनीहरुको साधारण शेयर खरिद गरेको छ । कम्पनीले अघिल्लो आवको तुलनामा गत आवमा शेयर बजारको लगानी ८९.७९ प्रतिशतले बढाएको छ । दोस्रो बजारको लगानीमा जीवन बीमा कम्पनीहरुले निकै रुची बढाएको देखिएको छ ।
समीक्षा अवधिमा सूर्यज्योति लाइफ इन्स्योरेन्सले तीन अर्ब ८८ करोड ४६ लाख रुपैयाँ, एलआइसी नेपालले दुई अर्ब ९९ करोड ६३ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सले दुई अर्ब ३० करोड २४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले एक अर्ब ९३ करोड १६ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले एक अर्ब ७३ करोड २६ लाख रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्सले एक अर्ब ६८ करोड ५५ लाख रुपैयाँ र सिटिजन लाइफ इन्स्योरेन्सले एक अर्ब ४९ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर खरिद गरेको छ ।
समीक्षा अवधिमा नेशनल लाइफ इन्स्योरेन्सले एक अर्ब ३५ करोड ८४ लाख रुपैयाँको शेयर खरिद गरेको छ । कम्पनीले केही समयअघि हिमालयन बैंकमा रहेको पाकिस्तानी हबिब बैंकको शेयर समेत खरिद गरिसकेको छ । उक्त लगानी यसमा उल्लेख गरिएको छैन् ।
साथै, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले एक अर्ब २५ करोड १० लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले एक अर्ब १३ करोड ११ लाख रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले २० करोड ६४ लाख रुपैयाँको शेयर खरिद गरेको छ ।
बृद्धिदरका आधारमा शेयर बजारमा लगानी सर्वाधिक लगानी बढाउने कम्पनीमा सानिमा रिलायन्स इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीले दोस्रो बजारमा ११४.६५ प्रतिशतले लगानी बढाएको छ । साथै, नेशनल लाइफ इन्स्योरेन्सले ९७.८५ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्सले ८९.७९ प्रतिशत र सिटिजन लाइफ इन्स्योरेन्सले ८३.२७ प्रतिशतले शेयरमा लगानी बढाएका छन् ।
मेट लाइफ इन्स्योरेन्स अमेरिकन जीवन बीमा कम्पनी हो । यो कम्पनीले नेपाली पूजी बजारमा सूचीकृत भएका कुनै पनि कम्पनीहरुमा लगानी नगरेको भएकाले प्राधिकरणले उक्त कम्पनीको सो लगानी उल्लेख गरेको छैन् ।
जीवन बीमा कम्पनीहरुले मुद्धती निक्षेपबाट बाहिर निस्कदै विभिन्न क्षेत्रमा समेत लगानीको दायरा बढाएर अगाडि लगिरहेको छ । बीमा प्राधिकरणले बीमा कम्पनीहरुको लगानीको दायरा विस्तार गर्न बीमा कम्पनीहरुलाई लगानी सम्बन्धी निर्देशिका जारी गरेसँगै कम्पनीहरुल लगानीको दायरा बढाउदै लगिरहेको छ ।
