मंगलबार ०१ पुस, २०८२

सेयर धितो कर्जा बढ्यो, ४ महिनामा १ खर्ब २३ अर्ब कर्जा प्रवाह

सेयर धितो कर्जा बढ्यो, ४ महिनामा १ खर्ब २३ अर्ब कर्जा प्रवाह

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा वाणिज्य बैंकहरुले प्रवाह गर्ने सेयर धितो कर्जामा उल्लेख्य वृद्धि भएको छ ।

चालु आवको ४ महिनामा २० वटा वाणिज्य बैंकमध्ये १९ बैंकहरुले १ खर्ब २३ अर्ब ५१ करोड ३१ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्ष २०८१/८२ को कात्तिकसम्मको तुलनामा ४३.७७ प्रतिशतले बढेको हो ।

बैंकहरुले गत आवको सोही अवधिमा ८५ अर्ब ९१ करोड १४ लाख रुपैयाँ सेयर धितो कर्जा प्रभाव गरेका थिए ।

समीक्षा अवधिसम्म सबैभन्दा धेरै सेयर धितो कर्जा प्रवाह गर्ने बैंकमा नबिल बैंक पहिलो स्थानमा रहेको छ भने वृद्धिदर अनुसार माछापुच्छ्रे बैंकले पहिलाे रहेको छ ।

गत आवको कात्तिकसम्मको तुलनामा समीक्षा अवधिमा १७ वटा बैंकले सेयर धितो कर्जा बढाएका छन् भने एनआईसी एशिया बैंक र नेपाल बैंकले सेयर धितो कर्जा घटाएका छन् र स्ट्यान्डर्ड चार्टर्ड बैंकले यो शीर्षकमा कर्जा प्रवाह नगरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको कात्तिकसम्म नबिल बैंकले १५ अर्ब ९६ करोड रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेको छ जुन गत आवको सोही अवाधिको तुलनामा ४३.१७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कात्तिकसम्ममा बैंकले ११ अर्ब १४ करोड ८७ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको थियो ।

त्यसैगरी सबैभन्दा धेरै सेयर लोन दिनेमा दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले १३ अर्ब १९ करोड ७३ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ ।

त्यसैगरी, चालु आवको ४ महिनामा कुमारी बैंकले ९ अर्ब ९८ करोड ८७ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले ९ अर्ब ८७ करोड ७७ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ८ अर्ब ८७ करोड १४ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ८ अर्ब २७ करोड ६८ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ७ अर्ब २० करोड २७ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।

त्यसैगरी, समिक्षा अवधिमा नेपाल बैंकले ७ अर्ब १४ करोड ८२ लाख रुपैयाँ, प्रभु बैंकले ६ अर्ब ६८ करोड ७८ लाख रुपैयाँ, सिटिजन्स बैंकले ६ अर्ब ३६ करोड २८ लाख रुपैयाँ, कृषि विकास बैंकले ६ अर्ब २३ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ३ अर्ब ८६ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ७६ करोड रुपैयाँ, एभरेष्ट बैंकले ३ अर्ब ७६ करोड रुपैयाँ, सानिमा बैंकले ३ अर्ब ४७ करोड रुपैयाँ, एनएमबी बैंकले ३ अर्ब ५ करोड रुपैयाँ, हिमालयन बैंकले २ अर्ब ९९ करोड रुपैयाँ, एनआइसी एशिया बैंकले २ अर्ब ८० करोड रुपैयाँ, नेपाल एसबीआई बैंकले ५३ करोड रुपैयाँ सेयर लोन प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।