बुधबार ०२ पुस, २०८२

अर्थतन्त्रप्रति बढ्दो असन्तुष्टि : ट्रम्पको ‘अप्रुभल रेटिङ’ घटेर ३९ प्रतिशतमा खुम्चियो

अर्थतन्त्रप्रति बढ्दो असन्तुष्टि : ट्रम्पको ‘अप्रुभल रेटिङ’ घटेर ३९ प्रतिशतमा खुम्चियो

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यसम्पादनप्रति नागरिकको समर्थन घटेर ३९ प्रतिशतमा पुगेको छ । रोयटर्सरइप्सोसले सार्वजनिक गरेको पछिल्लो मतसर्वेक्षण अनुसार अर्थतन्त्र र महँगीका विषयमा बढ्दो चिन्ताका कारण ट्रम्पको लोकप्रियतामा गिरावट आएको हो ।

यस महिनाको सुरुमा ४१ प्रतिशत रहेको उनको ‘अप्रुभल रेटिङ’ अहिले २ अंकले घटेको छ । विशेषगरी ट्रम्पकै रिपब्लिकन पार्टीका सदस्यहरूमाझ अर्थतन्त्रलाई लिएर असन्तुष्टि बढ्नु यस गिरावटको मुख्य कारण मानिएको छ। 

सर्वेक्षण अनुसार केवल ३३ प्रतिशत उत्तरदाताले मात्र ट्रम्पको आर्थिक व्यवस्थापनको समर्थन गरेका छन्, जुन उनी दोस्रो पटक सत्तामा आएपछिकै सबैभन्दा न्यून स्तर हो। सन् २०२४ को चुनावी अभियानमा महँगी र जीवनयापनको लागत घटाउने वाचा गरेका ट्रम्पका लागि अहिले बढ्दो खरिद क्षमताको समस्या ठुलो राजनीतिक चुनौती बन्ने देखिएको छ।

‘पोलिटिको’ को अर्को एक सर्वेक्षणले स्वास्थ्य सेवा, खाद्यान्न र आवास जस्ता खर्चका कारण अमेरिकीहरूमा उच्च चिन्ता रहेको देखाएको छ । ५५ प्रतिशत सहभागीले खाद्यान्नको मूल्य बढ्नुमा ट्रम्पको नीतिलाई जिम्मेवार मानेका छन्।

डिसेम्बरको सुरुमा ३१ प्रतिशत रहेको जीवनयापनको लागत सम्बन्धी ट्रम्पको लोकप्रियता अहिले २७ प्रतिशतमा झरेको छ। रिपब्लिकनहरू माझ पनि उनको आर्थिक लोकप्रियता ७८ बाट घटेर ७२ प्रतिशतमा पुगेको छ।

आफूविरुद्धको आलोचनालाई अस्वीकार गर्दै ट्रम्पले महँगीले जनतालाई मर्कामा पारेको कुरालाई ‘भ्रम’ भनेका छन्। उनले अमेरिकी अर्थतन्त्र ‘स्वर्ण युग’ मा रहेको र आफूले मुद्रास्फीतिलाई नियन्त्रणमा लिएको दाबी गरेका छन्। अघिल्लो हप्ता उनले मूल्यहरू उल्लेखनीय रूपमा घटिरहेको बताएका थिए।

ट्रम्पको यो शैलीले उनका पूर्ववर्ती जो बाइडेनको सम्झना गराएको भन्दै विपक्षी डेमोक्रेटहरूले कटाक्ष गरेका छन्। बाइडेनले पनि आफ्नो कार्यकालमा मुद्रास्फीति र महँगीबारे जनताको गुनासोलाई अतिरञ्जित गरिएको बताएका थिए, जसको ट्रम्पले त्यतिबेला कडा आलोचना गर्ने गर्थे।

–अल जजिरा