बुधबार ०२ पुस, २०८२

चार महिनाको मूल्य विश्लेषण : तरकारीको भाउ ८०० प्रतिशतसम्म बढ्यो

चार महिनाको मूल्य विश्लेषण : तरकारीको भाउ ८०० प्रतिशतसम्म बढ्यो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो चार महिनामा दैनिक उपभोग्य वस्तु, विशेषगरी तरकारीको मूल्यमा अत्यधिक उतारचढाव देखिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको ‘प्रथम चौमासिक मूल्य विश्लेषण प्रतिवेदन, २०८२’ अनुसार केही तरकारीको मूल्य ८०० प्रतिशतसम्म बढेको पाइएको छ ।

विभागले चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको बजार मूल्य विश्लेषण गरी प्रतिवेदन तयार गरेको छ । तरकारीको मूल्यमा अस्वाभाविक वृद्धि भएपछि विभागले कालीमाटी फलफूल तथा तरकारी बजारको तथ्याङ्क विश्लेषण गर्दै साउनदेखि कार्तिकसम्मको अवधिमा तिते करेला र बोडी (तने)को मूल्यमा ८०० प्रतिशतले वृद्धि भएको जनाएको छ । त्यस्तै, काँक्रो (हाईब्रिड) ६५० प्रतिशत, हरियो धनियाँ ४८३.३३ प्रतिशत र पुदिना ४१५.१५ प्रतिशतले महँगिएका छन् ।

मौसम प्रतिकूलता, चाडपर्वको समय र ढुवानीमा आएको समस्याका कारण तरकारीको मूल्यमा यस्तो अस्वाभाविक वृद्धि देखिएको प्रतिवेदनमा उल्लेख छ । यद्यपि, राजा च्याउ, मेवा, ताजा माछा र चाइनिज लसुनको मूल्यमा भने खासै ठुलो परिवर्तन देखिएको छैन । यी तरकारी तथा फलफूलमा सामान्य वृद्धि देखिएको छ । खाद्यान्नको मूल्य सामान्य वृद्धि तरकारीको तुलनामा खाद्यान्न (चामल, दाल, गेडागुडी) को मूल्यमा भने मिश्रित प्रभाव देखिएको छ । 

देशका प्रमुख सहरहरूमा सोना मन्सुली र स्टिम जिरा चामलको मूल्यमा सामान्य परिवर्तन देखिएको छ । भैरहवामा बासमती चामल अन्य सहरको तुलनामा सस्तो पाइएको छ । थोक मूल्यमा लङग्रेन चामल र मकैको मूल्य स्थिर देखिएको छ ।यस्तै दाल तथा गेडागुडीमध्ये बोडीको मूल्यमा बढी उतारचढाव देखिए पनि मासको दालमा न्यून उतारचढाव छ । खुद्रा बजारमा ताईचिन चिउरा ११.८ प्रतिशत र मकै ८.३ प्रतिशतले महँगिएको छ भने रहर दाल, चना र सेतो भटमासको मूल्य स्थिर छ ।इन्धन र डलरको प्रभाव मूल्य वृद्धिको एउटा प्रमुख कारण अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धि पनि हो । 

समीक्षा अवधिमा डलरको खरिद दर २.९२ प्रतिशतले बढेर १३७.५४ बाट १४१.५६ रुपैयाँ पुगेको छ । यसले आयातित वस्तुको मूल्यमा चाप पारेको प्रतिवेदनमा उल्लेख छ । इन्धनतर्फ भने मिश्रित नतिजा देखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै नेपालमा पेट्रोल प्रतिलिटर २ रुपैयाँले बढेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर ३ रुपैयाँले घटेको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने स्थिर रहेको छ । प्रतिवेदनले मूल्य वृद्धिका पछाडि मौसमी प्रभाव प्रमुख कारण रहेको औँल्याएको छ । 

वर्षायामका कारण तरकारी उत्पादन र ढुवानीमा समस्या, यस्तै भाद्र महिनामा भएका विभिन्न आन्दोलन (प्रतिवेदनमा ‘जेन्जी आन्दोलन’ र सरकार परिवर्तनको सन्दर्भ उल्लेख)ले बजारमा सामान्य प्रभाव पारेको उल्लेख छ । त्यसैगरी अमेरिकी डलरको मूल्य वृद्धि र विश्वव्यापी व्यापार तनाव पनि मूल्यवृद्धि अर्को प्रमुख कारण रहेको उल्लेख गरेको छ ।

यस्तै बजारमा बिचौलियाको प्रभावका कारण तरकारी तथा फलफूलमा उत्पादन मूल्य भन्दा उपभोक्ता मूल्य उच्च भएको प्रतिवेदनमा उल्लेख छ । साथै विभागले प्रतिवेदन सार्वजनिक गर्दै बजारलाई नियन्त्रणमा राख्न र कृत्रिम अभाव हुन नदिन अनुगमनलाई तीव्रता दिने जनाएको छ । प्रतिवेदनले हरेक वस्तुमा अधिकतम खुद्रा मूल्य (एमअारपी) अनिवार्य अङ्कित गर्नुपर्ने, सिन्डिकेट र कार्टेलिङ अन्त्य गर्नुपर्ने तथा बजारका तहहरू निर्धारण गरी बिचौलियाको तह घटाउनुपर्ने सुझाव दिएको छ ।विभागले भाटभटेनी जस्ता डिपार्टमेन्टल स्टोरहरूमा तोडफोड भएपनि त्यहाँको मूल्यमा भने बजारको सामान्य थपघट बाहेक अन्य अस्वाभाविक वृद्धि नभएको स्पष्ट पारेको छ ।