सामाजिक सुरक्षा कोष : उपचारदेखि निवृत्तिभरणसम्मको सुनिश्चितता
काठमाडौँ। नेपालमा सामाजिक सुरक्षा कोष विभिन्न क्षेत्रका श्रमिकहरूलाई आर्थिक सुरक्षा प्रदान गर्ने लक्ष्यसहित स्थापना गरिएको सरकारी योजना हो। यो योगदानमा आधारित सुरक्षा योजना हो, जसमा रोजगारदाता र श्रमिकहरूले तलबको निश्चित भाग कोषमा योगदान गर्छन्। कोषले स्वास्थ्य सेवा, दुर्घटना कभरेज, वृद्धावस्था सुरक्षा, मातृत्व सुविधा र आश्रित परिवार सुरक्षा जस्ता लाभहरू प्रदान गर्छ।
सामाजिक सुरक्षा कोषमा श्रमिकलाई औपचारिक, अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगार गरी चार क्षेत्र छुट्याइएको छ। प्रत्येक क्षेत्रमा योगदानकर्ताले चारवटा योजनाबाट सुविधा लिन सक्छन्: स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा।
कोषमा आबद्ध हुने प्रक्रिया :
औपचारिक क्षेत्रका श्रमिकका लागि रोजगारदाता र कर्मचारी दुवैले योगदान दिन्छन्। रोजगारदाता कोषमा दर्ता भएपछि योगदानकर्ताको विवरण अनलाइन पोर्टलमार्फत पेश गर्नुपर्छ। अनौपचारिक र स्वरोजगार क्षेत्रमा आबद्ध हुन स्थानीय तह वा वडा कार्यालयको सिफारिस आवश्यक पर्छ।
योगदान रकम र वितरण :
औपचारिक क्षेत्रमा मासिक आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम कोषमा जम्मा हुन्छ, जसमा ११% श्रमिक र २०% रोजगारदाताले बुझाउँछन्। वैदेशिक रोजगारमा न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३% योगदान गर्नुपर्ने हुन्छ। अनौपचारिक क्षेत्रमा १०.३७% रकम योगदान गर्नुपर्छ, जसमा ११% श्रमिक र ९.३७% सरकारले बेहोर्छ। स्वरोजगार योगदानकर्ताले ३१% रकम आफैं जम्मा गर्नुपर्छ।
जम्मा रकम विभिन्न योजनामा विभाजन हुन्छ। वृद्धावस्था सुरक्षा योजनामा २८.३३%, दुर्घटना तथा अशक्तता सुरक्षा १.४%, स्वास्थ्य तथा मातृत्व सुरक्षा १%, आश्रित परिवार सुरक्षा ०.२७% र बाँकी निवृत्तिभरण/पेन्सनमा जान्छ।
सुविधाहरू :
औपचारिक क्षेत्रका योगदानकर्ताले वार्षिक १ लाख रुपैयाँसम्मको स्वास्थ्य सुविधा, ओपीडी उपचारमा २० हजार र आइपीडी उपचारमा ८० हजार रुपैयाँसम्मको शोधभर्ना सुविधा पाउनेछन्। दुई वर्ष योगदान गरेमा घातक रोगको उपचार खर्चमा १० लाखसम्मको सुविधा उपलब्ध छ।
अवकाश र पेन्सन योजनामा ६० वर्षपछि वा रोजगारी अन्त्यमा जम्मा रकम निकाल्न सकिन्छ। मृत्युपछि योगदानकर्ता र आश्रितले मासिक पेन्सन वा एकमुष्ट रकम प्राप्त गर्नेछन्। शैक्षिक वृत्तिको रूपमा अविवाहित सन्तानले आधारभूत पारिश्रमिकको ४०% प्राप्त गर्नेछन्।
स्वास्थ्य तथा मातृत्व सुरक्षामा अस्पताल भर्ना, शल्यक्रिया, औषधि खर्च, प्रसूति खर्च र शिशु उपचारसम्म सुविधा उपलब्ध छ। दुर्घटनामा सम्पूर्ण उपचार खर्च, स्थायी अशक्तता भएमा जीवनभर मासिक ६०% पारिश्रमिकको पेन्सन, र मृत्युपछि आश्रित परिवारलाई न्यूनतम पारिश्रमिकको ४०% पेन्सन प्राप्त हुनेछ।
तीन वर्षभन्दा बढी योगदान गरेपछि जम्मा रकमको ८०% सम्म ऋण लिन सकिन्छ, जसमा ब्याज बैंकको भन्दा कम लाग्ने व्यवस्था छ।
सामाजिक सुरक्षा कोषले यसरी श्रमिक र रोजगारदातालाई सुरक्षित, दीर्घकालीन आर्थिक योजना र आकस्मिक सुरक्षाको सुविधा प्रदान गर्दै नेपालको श्रम बजारमा सुरक्षा र स्थायित्वको सुनिश्चितता गर्दै आएको छ।
