अफगानिस्तानको स्वास्थ्य सेवामा सुधार
विगत दुई वर्षमा अफगानिस्तानको स्वास्थ्य सेवामा सुधार आएको अफगान सरकारका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताउनु भयो । उहाँले महिलाहरूलाई स्वास्थ्य क्षेत्रमा रोजगारीको अवसर पनि प्रदान गरिएको दावी गर्नुभयो । अफगानिस्तानमा तालिवान नेतृत्वमा सरकार गठन भएपछि हजारौँ किशोरी तथा महिला कामदारहरूलाई त्यहाँको इस्लाम कानूनको हवाला दिँदै रोजगारीबाट बञ्चित पारिएको स्थानीय महिला अधिकारकर्मी तथा मानवअधिकारका लागि काम गर्ने अन्तरराष्ट्रिय सङ्घ संगठनहरूले बताउँदै आएका छन् । टोलो न्यूजले बुधबार मुजाहिदलाई उद्धृत गर्दै उल्लेख गरे अनुसार विगतको तुलनामा स्वास्थ्य गतिविधिहरू बढेका छन् । केन्द्र तथा प्रान्तका अस्पतालहरू व्यवस्थित भएका छन् ।समयमै औषधि उपचारहरू उपलब्ध भइरहेका छन् । मुजाहिदले युद्धबाट तहस नहस बनेको अफगानिस्तानमा स्वास्थ्य क्षेत्रको अवस्था बिग्रँदै गएको रिपोर्ट आईरहेको समयमा समाचारहको खण्डन गर्दै उक्त दावी गर्नु भएको हो । यसैबीच, अफगान अन्तरिम सरकारले देशमा थप अस्पताल र स्वास्थ्य क्लिनिकहरू निर्माण गरेर स्वास्थ्य क्षेत्रमा थप सुधार गर्ने प्रतिवद्धता अनुसार काम गरिरहेको उहाँले बताउनुभयो । - - - (रासस / सिन्ह्वा)