वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, बैशाख २७

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा गण्डकी गाउँपालिका–२ बस्ने ३८ वर्षीय वकिल बहादुर आले र तनहुँ ऋषिङ  गाउँपालिका–८ घर भई काठमाडौं महानगरपालिका–२६ गोंगबु बस्ने ३४ वर्षीय धर्मेन्द्र श्रेष्ठ रहेका छन् ।

पक्राउ मध्ये वकिल बहादुरले क्यानडा पठाईदिन्छु भन्दै ६ जना पीडितहरूबाट ३६ लाख रूपैयाँ ठगी गरेको र धर्मेन्द्रले युके पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट ९ लाख ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले वकिल बहादुरलाई जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखा गाउँपालिका–६ बाट र धर्मेन्द्रलाई  काठमाडौं गोंगबुबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।