कुल वस्तु निर्यात घट्यो

कुल वस्तु निर्यात घट्यो

काठमाडौं, बैशाख ३०

कुल वस्तु निर्यात घटेको छ । नेपाल राष्ट्र बैंकले आईतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी चालु आर्थिक बर्षको नौं महिना अर्थात चैत मसान्तसम्मको प्रतिवेदन अनुसार कुल वस्तु निर्यातमा तीन दशमलव सात प्रतिशतले कमी आई एक खर्ब १३ अर्ब ९५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २६ दशमलव तीन प्रतिशतले कमी आएको थियो । 

राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः छ दशमलव दुई प्रतिशत र दुई प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात दुई सय ३२ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, पोलिस्टर धागो, तयारी पोसाक लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, ऊनी गलैचा, चिया, जुटका सामान लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०८०-८१ को नौ महिनामा कुल वस्तु आयात दुई दशमलव आठ प्रतिशतले कमी आई ११ खर्ब ६७ अर्ब ३७ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८ दशमलव एक प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः तीन दशमलव दुई प्रतिशत र २२ दशमलव छ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३३ दशमलव चार प्रतिशतले बढेको छ । वस्तुगत आधारमा सवारी साधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, हवाइजहाजको स्पेयर पार्टपुर्जा, विद्युत्तीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने सुन, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, रसुवा तथा तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०-८१ को नौ महिनामा कुल वस्तु व्यापार घाटा दुई दशमलव आठ प्रतिशतले कमी आई १० खर्ब ५३ अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७ दशमलव एक प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात नौ दशमलव आठ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो अनुपात नौं दशमलव आठ प्रतिशत नै रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब ११ अर्ब दुई करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब एक अर्ब ६७ करोड बराबरको भएको थियो । 

वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५६ दशमलव आठ प्रतिशत र ४२ दशमलव सात प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् शुन्य दशमलव सात प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५५ प्रतिशत, शुन्य दशमलव प्रतिशत र ४४ दशमलव तीन प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ४९ दशमलव दुई प्रतिशत, पुँजीगत वस्तुको नौं दशमलव एक प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४१ दशमलव सत प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५३ दशमलव तीन प्रतिशत, ८.३ प्रतिशत र ३८ दशमलव तीन प्रतिशत रहेका थिए ।