सुडानमा बाल कुपोषण ‘जटिल अवस्थामा’ पुगेको राष्ट्रसङ्घको भनाइ

सुडानमा बाल कुपोषण ‘जटिल अवस्थामा’ पुगेको राष्ट्रसङ्घको भनाइ

 रोम, १८ जेठ (रासस/एएफपी) :

संयुक्त राष्ट्रङ्घका एजेन्सीहरूले बिहीबार युद्धग्रस्त सुडानमा बालबालिका तथा आमाहरूको पोषण स्थितिमा ‘उल्लेखनीय गिरावट’ आएको चेतावनी दिँदै तत्काल समाधान गर्न आह्वान गरेका छन् । “सुडानका बालबालिकाको जीवन खतरामा रहेको जनाउदै कुपोषण, रोग र मृत्युबाट जोगाउन तत्काल कदम चाल्न आवश्यक छ,” संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय (युनिसेफ), विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले एक विज्ञप्ति जारी गरी आग्रह गरेका छन् ।

सुडानका शासक अब्देल फत्ताह अल–बुरहानको नेतृत्वमा रहेको नियमित सेना उहाँका पूर्व सहायक मोहम्मद हमदान डग्लोको नेतृत्वमा रहेको आरएसएफबीच एक वर्षभन्दा बढी समय देखि द्वन्द्व चलिरहेको छ । राष्ट्रसङ्घका विज्ञहरूका अनुसार द्वन्द्वले दशौँ हजार मानिसहरूको ज्यान लिएको छ र यसका कारण पश्चिम डार्फर सहरमा १५ हजारको मृत्यु भएको छ । सहयोगसम्बन्धी सङ्घसंस्थाका अनुसार करिब ९० लाख मानिस विस्तापित भएका छन् भने बाल कुपोषणको समस्याले देशको स्वास्थ्य क्षेत्रलाई आक्रान्त बनाइरहेको छ । यसमा पौष्टिक खाना, सुरक्षित पिउने पानी र सरसफाइमा पहुँचको अभाव र रोगको बढ्दो जोखिम समावेश भएको उनीहरूले बताएका छन् ।

सुडानले द्वन्द्व–प्रेरित अनिकालको बढ्दो जोखिमको सामना गरिरहेको छ र यसका कारण बालबालिकाहरूमा ज्यान गुमाउनेसहित विनाशकारी परिणामहरू निम्तिने उनीहरूको धारणा छ । द्वन्द्वले मानवीय आपूर्तिको वितरणमा गम्भीर असर पारेको छ, अनगिन्ती महिला र बालबालिकाहरूलाई खाना र पोषण सहयोगको पहुँचबाट वञ्चित पारेको छ । मध्य डार्फरमा, पाँच वर्ष मुनिका बालबालिकामा १५.६ प्रतिशत तीव्र कुपोषण हुने अनुमान गरिएको छ भने उत्तरी डार्फर राज्यमा विस्थापित मानिसहरूका लागि स्थापित शिविरमा यो ३० प्रतिशतको नजिक छ । उनीहरूलाई आवश्यक मानवीय सहायता प्रदान गर्न तत्काल र सुरक्षित पहुँच चाहिने डब्लुएफपी प्रमुख सिन्डी म्याककेनले बताउनुभयो । लाखौँको जीवन खतरामा रहेकाले अन्तर्राष्ट्रिय समुदायले अब कार्य गर्नुपर्छ अन्यथा बालबालिकाको सम्पूर्ण पुस्ता गुमाउने जोखिम रहेको उहाँले बताउनुभयो ।