विद्यार्थीलाई सम्भावना चिनाउन र अवसरसँग जोड्न शनिबार करियर कन्क्लेभ हुँदै

विद्यार्थीलाई सम्भावना चिनाउन र अवसरसँग जोड्न शनिबार करियर कन्क्लेभ हुँदै

काठमाडौं, साउन १७


माध्यमिक तहको (+२) अध्ययन पूरा गरेर बसेका विद्यार्थीहरूलाई सम्भावना चिनाउन र अवसरहरुसँग जोड्न श्रावण १९ गते अर्थात् आगामी शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ‘करियर कन्क्लेभ’ आयोजना हुने भएको छ । ‘करियर कन्क्लेभ’ नेपालमा विद्यार्थीहरुको करियरलाई प्राथमिकतामा राखेर गर्न लागिएको पहिलो युवा सम्मेलन भएको आयोजकले जनाएको छ ।

 


प्रशिक्षणको आयोजक र टेकस्पायर कलेजको मुख्य प्रयोजनमा हुन लागेको युवा सम्मेलन ‘करियर कन्क्लेभ’ ले विद्यार्थीहरूलाई प्रतिस्पर्धी बजारमा फस्टाउन र विकसित व्यावसायिक परिदृश्यमा अनुकूलन गर्न सहयोग गर्ने आयोजक संस्थाका अध्यक्ष लक्ष्मण पोख्रेलले बताए । सम्मेलनमा विद्यार्थीहरुलाई नेपालको सूचना प्रबिधि क्षेत्र र व्यवस्थापन क्षेत्रका अग्रणी व्यक्तिहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


कार्यक्रममा नेपालको अग्रणी डिजिटल वाल्ट ई सेवाका सह संस्थापक तथा यति एयरलाइन्सका सिईओ सुबाश सापकोटा, आईडियाप्रेन्योर नेपालका संस्थापक सन्जोग कोइराला, कोड हिमालयका सह संस्थापक ईस्मरण दवाडी, ह्याप्पी माइण्डसका संस्थापक श्रेया गिरीले ‘जीवन्त सिकाई र बदलिँदो रोजगारीको बजार’ विषयमा प्यानलमा बहस गर्नेछन्। उक्त प्यानलको मध्यस्थता माइण्सेट क्युबका संस्थापक राजन कोइरालाले गर्नेछन ।


कार्यक्रममा क्यानका सचिव पारस खड्का र उत्प्रेरक वक्ता शौनक भट्टले विद्यार्थीहरुलाई सम्बोधन गर्नेछन् भने नितेशजंग कुँवर र समृद्धि राईको सांगितीक प्रस्तुति हुनेछ । यस्तै हास्य कलाकार सुमन कार्कीले पनि प्रस्तुति दिनेछन् भने अन्य थुप्रै सांगीतिक तथा सांस्कृतिक कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

सम्मेलनलाई कोड फर चेन्ज नेपालले सहआयोजना गरेको हो भने पिसिपिएस कलेज सहप्रायोजकमा रहेको छ । यस्तै कोड हिमालय, कुमारी बैंक, इन्ट्रान्स पार्क, आईएनआई सिनेमाज, एईसिसी ग्लोबल, क्वेस्नबैंक एआईले सम्मेलनलाई प्रायोजनना गरेका छन् ।