इ सेवा बन्यो, प्ले स्टोरमा १ करोड भन्दा बढी डाउनलोड पुरा गर्ने पहिलो डिजिटल वालेट

इ सेवा बन्यो, प्ले स्टोरमा १ करोड भन्दा बढी डाउनलोड पुरा गर्ने पहिलो डिजिटल वालेट


काठमाडौं, भदौ ४ 

इ सेवा प्ले स्टोरमा १ करोड भन्दा बढी डाउनलोड पुरा गर्ने पहिलो डिजिटल वालेट बनेको छ ।  भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको गुगल प्ले स्टोरमा १ करोडभन्दा बढी डाउनलोड पुरा गर्न सफल भएको र  यो उपलब्धि हासिल गर्ने इसेवा, नेपालको पहिलो डिजिटल वालेट एप भएको कम्पनीको भनाई छ ।  इसेवाले १ करोड डाउनलोडलाई ’खुसीका १ करोड पलहरु’ भनेर मनाएको छ 

नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले यो अवधिमा नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्याएको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ ।

यो यात्रामा आम मानिसलाई जुनसुकै सेवाको लागि लाइन बस्नुपरेमा सबैभन्दा पहिले इसेवालाई सम्झने अवस्थामा ल्याइ पुर्याएको छ । सन् २००९ मा स्थापना भई सेवा दिई आइरहेको यस कम्पनीले लगभग १६ वर्षको अन्तरालमा नै यो उपलब्धि हासिल गरेको हो। हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको यस कम्पनीसँग एक करोड भन्दा बढी दर्ता भएका ग्राहकहरू, दुई लाख ५० हजार भन्दा बढि एजेन्टहरू, ४९ बैंकहरू, ४५ लघुवित्तहरू तीन लाख ५० हजार भन्दा बढी मर्चेन्टहरु आवद्ध रहेको कम्पनीको भनाई छ । 

यस उपलब्धिमा उत्साह व्यक्त गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले एक करोड डाउनलोड गरी इसेवालाई माया गर्ने प्रयोगकर्ता, ग्राहक, एजेन्ट तथा मर्चेन्टहरु सम्पूर्णका धन्यवाद व्यक्त गरेका छन् । ’इसेवाको यो यात्रा यतिमा मात्र सीमित नभइ भविष्यमा नयाँ नयाँ प्रविधिहरू र नवीनताको साथ नयाँ प्रयोगकर्ताहरूको लागि पनि अनुकुल बनाउँदै अझै थप डाउनलोड बढ्ने कुरामा हामी विश्वस्त छौं,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भनेका छन् ।