नेपालमै पहिलो वास्तु वेबसाइट सञ्चालनमा

नेपालमै पहिलो वास्तु वेबसाइट सञ्चालनमा

काठमाडौं, भदौ ९

वास्तु विज्ञानका आधारमा प्रविधिको प्रयोग गरी नेपालमा पहिलो वेबसाइट सञ्चालनमा आएको छ । वास्तु विज्ञान प्रालिले वास्तु क्षेत्रका परामर्शकर्ता, इन्जिनियर, वास्तु अनुयायीहरूलाई सहयोग हुने गरी vastubigyan.com नामक वेबसाइट शनिबार राजधानीमा आयोजित एक समारोहबीच अनावरण गरेको हो ।

वेबसाइटमा वास्तुका लागि आवश्यक पर्ने दिशा चयन, नक्साको वास्तुस्थिति र वास्तु प्रभाव, सडक प्रभाव, माटोको परीक्षण विधिलाई सहज रूपमा प्रस्तुत गरिएको छ । त्यसैगरी वास्तुका क्षेत्रमा अधिक प्रयोग हुने ४५ देवताको स्थान, ऊर्जाको प्रभाव तथा देवताको उपचार विधिलाई प्रस्तुत गरिएको छ ।

वास्तु विज्ञान डटकमको अनावरण गर्दै विश्व ज्योतिष महासङ्घका अध्यक्ष डा लोकराज पौडेलले नेपालमा यस किसिमको वेबसाइटको सुरुआत गौरवपूर्ण कार्य भएको बताउनुभयो । उहाँले वास्तु सकारात्मक बनाएर जीवन समुन्नत पार्न मानिसले नै प्रयोग गर्न सक्ने वैदिक विधि भएकाले वेबसाइटले सर्वसाधारणको जीवनमा सकारात्मक प्रभाव ल्याउन कोशेढुङ्गा बन्ने बताउनुभयो ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै दक्षिण एसियाली ज्योतिष महासङ्घका अध्यक्ष डा सहदेव विष्टले विभिन्न ग्रन्थहरुको अध्ययन गरी तथ्यांकहरुको सही प्रयोग भएकोले वास्तुविज्ञानडटकमले नेपालको वास्तु सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले साधना, अध्ययन र प्रविधिसमेतको प्रयोग भएको वेबसाइटले नेपाली वास्तुको क्षेत्र उच्चस्तरमा लैजाने सम्भावना रहेको बताउनुभयो ।

त्यसैगरी नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डेले हजारौँ तलाको भवन बनाउने वैदिक विधान रहेकाले शास्त्रीय मान्यता र आधुनिक विज्ञानको प्रयोग अत्यन्तै व्यावहारिक भएको बताउनुभयो ।
 
कार्यक्रममा दक्षिण एसियाली ज्योतिष महासङ्घका सभापति आचार्य लक्ष्मण पन्थी, वैदिक वास्तुका विज्ञ डा श्रीविमल पौडेललगायतले वेबसाइटले वास्तुका क्षेत्रमा नयाँ इटा थप्ने काम गरेको बताउनुभयो । वास्तु विज्ञानको तर्फबाट वास्तुविज्ञानडटकम सर्जक शालिकराम भण्डारीले वेबसाइटका बारेमा प्रस्तुति गर्नुभएको थियो ।
–––