सुक्खाबन्दरगाह भन्सारको राजस्व लक्ष्य घटाइयो

सुक्खाबन्दरगाह भन्सारको राजस्व लक्ष्य घटाइयो


वीरगञ्ज (पर्सा), भदौ १०

पर्सास्थित सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेपछि आव २०८१÷८२ मा पाँच अर्ब लक्ष्य घटाइएको छ । कार्यालयले विगत दुई वर्षदेखि लक्ष्यानुसारको राजस्व सङ्कलन गर्न नसकेपछि भन्सार विभागले गत आवको तुलनामा चालु आवमा पाँच अर्बले लक्ष्य घटाएको हो ।

भन्सार विभागले सुक्खाबन्दरगाह भन्सार कार्यालयलाई चालु आवमा रु ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिदिएको छ । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनवहादुर बरुवालले भन्सार विभागले कार्यालयलाई चालु आवमा रु ६० अर्ब चार करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको बताउनुभयो । “कार्यालयले गत आवमा लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत राजस्व असुली गरेको थियो । आव २०७९÷८० को तुलनामा आव २०८०÷८१ म रु पाँच अर्बभन्दा धेरै राजस्व सङ्कलन गर्न सकिएको थियो”, उहाँले भन्नुभयो, “गत आवमा लक्ष्यानुसारको राजस्व सङ्कलन हुन भने सकेन ।”

भन्सार विभागले आव २०८०÷८१ मा कार्यालयलाई रु ६५ अर्ब ९४ करोड एक लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर कार्यालयले सो अवधिमा लक्ष्यको लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत अर्थात् रु ४७ अर्ब ३१ करोड एक लाख ९० हजार राजस्व सङ्कलन गरेको थियो । विभागले कार्यालयलाई आव २०७९/८० मा पनि रु ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिदिएको थियो । तर कार्यालयले सो आवमा पनि लक्ष्यको ६२ दशमलव ८८ प्रतिशत अर्थात् रु ४२ अर्ब ४० लाख २२ हजार ९३ रकम राजस्व सङ्कलन गरेको थियो ।
–––