अँध्यारी गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै

अँध्यारी गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै

काठमाडौं, भदौ १०
उमामहेश्वरसहित दुवोको पूजा गरेर  सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज अँध्यारी गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व चान्द्रमास अनुसार भाद्र महिनामा मनाइन्छ । 

चान्द्रमास अनुसार भाद्र महिना अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने श्रावण शुक्ल अष्टमीका दिन यो पर्व मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताउनुभयो । “शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भनिन्छ । यस वर्षको गौरालाई अँध्यारी भनिएको छ । पहिलो पटक व्रत बस्नेले शुक्ल पक्ष अर्थात् उज्याली गौरादेखि सुरु गर्नुपर्ने व्रत विधान छ”, उहाँले भन्नुभयो ।

कन्या राशिमा सूर्य गएपछि भने गौरा मनाउन नहुने धर्मशास्त्रविद् प्रा नेपालले जानकारी दिनुभयो । सिंह राशिमा सूर्य भएका बेला (भदौमा) गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रिलगायत ग्रन्थमा उल्लेख गरिएको उहाँले उल्लेख गर्नुभयो ।

गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा ऐतिहासिक मौलिक पर्वका रुपमा मनाउने गरिन्छ । राजधानीमा पनि सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यहाँ पनि योपर्व धुमधामका साथ मनाउन थालिएको देउडा संस्कृतिविद् गायक नन्दकृष्ण जोशीले बताउनुभयो ।

    सत्य युगमा हिमालय पुत्री पार्वतीले ‘महादेव स्वामी पाऊँ’ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा यो पर्व मनाउन थालिएको देउडा संस्कृतिविद् जोशीले जानकारी दिनुभयो । 

गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन सफा घरमा भित्र्याएर वर्तालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको उहाँले बताउनुभयो ।

देउडा संस्कृतिविद् जोशीका अनुसार देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ । यसरी भित्र्याउँदा कसैले पनि हेर्न नहुने मान्यता छ । गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन् ।

“यो पर्वका लागि भाद्र कृष्ण पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ, यसलाई बिरुडा भनिन्छ । अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रुपमा बिरुडा चढाएर भक्तजनलाई प्रसादस्वरुप बिरुडा बाँडिन्छ । पाँच किसिमका गेडागुडी भिजाउने दिनलाई बिरुडा पञ्चमी भनिन्छ”, उहाँले भन्नुभयो ।

तीन दिन पूजा गरिसकेपछि मङ्गलबार र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगी सेलाइन्छ । जुठो, सुतक परेका बेला देवीलाई विसर्जन गर्न नहुने परम्परा रहेको जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार देवीलाई विसर्जन गरेपछि मागल अर्थात् माङ्गलिक कर्ममा गाइने भजन तथा गीत गाएर रमाइलो गर्ने परम्परा छ । देशका अन्य भागमा तीज मनाए जस्तै पश्चिममा यो पर्व विशेषगरी नारीहरुले मनाउने गर्दछन् ।

दुर्वाष्टमी पर्व मनाइँदै
यो पर्वमा दुवोको पनि पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिने धर्मशास्त्रविद् प्रा नेपालले बताउनुभयो । दुबो जसरी फैलिन्छ त्यसरी सन्तान सुख र शान्ति फैलियोस्, समृद्धि प्राप्त होस् भन्ने कामनासहित यो पर्वमा उमामहेश्वरको पूजा, उपासना र व्रत गर्ने धार्मिक मान्यता रहेको उहाँले जानकारी दिनुभयो ।

‘सन्तान राम्रा र गुण सम्पन्न हुन्, आयु तथा स्वास्थ्य राम्रो होस्’ भन्ने कामनाले गौरा एवं दुर्वाष्टमी पर्व मनाइन्छ । अष्टमीका दिनमा पूरै ज्येष्ठा र मूल नक्षत्र परेमा भने दुबोको पूजा गर्न नहुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् नेपालले बताउनुभयो । अष्टमी तिथिभर ज्येष्ठा र मूल नक्षत्र नपरेमा दुबोको पूजा गर्नहुन्छ भन्ने शास्त्रीय मान्यता छ । 

यस दिन दुबो र गौराको पूजा गरे सौभाग्य, सन्तान प्राप्त हुने, कार्य सिद्धि हुने धर्म ग्रन्थ हेमाद्रिमा उल्लेख गरिएको नेपालको भनाइ छ । यो दिनमा सुदूरपश्चिमवासीले देउडा गीत गाएर नृत्य गरी रमाइलो गर्दछन् । काठमाडौँको टुँडिखेलमा पनि देउडा गीत र नृत्य गरी सुदूरपश्चिमवासीले मनोरञ्जन गर्ने गरेका छन् । रासस
–––