काठमाडौंमा ‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’ हुने

काठमाडौंमा ‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’ हुने

काठमाडौ, भदौ १०   

काठमाडौंस्थित रोयल थाई दूतावासले ‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’ आयोजना गर्ने भएको छ ।

सोमवार दूतावासमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि थाई राजदूत सुपापोङ सिरिसोर्नले नेपाल र थाइल्याण्डबिचको कूटनीतिक सम्बन्धको ६५ वर्ष पूरा भएको अवसरमा दशकअघिदेखि रोकिएको फेस्टिभल पुनः सुरु गर्न लागेको जानकारी दिए ।

फेस्टिभल यही भदौ १४ गते शुक्रबारदेखि ठमेलस्थित छाया सेन्टरको क्यूएफएक्स सिनेमा हलमा सुरु भई भदौ १६ गते आइतबार समापन हुनेछ । यो नेपालमा आयोजना हुन लागेको चौथो थाई फिल्म फेस्टिभल हो, जसको अघिल्लो संस्करण सन् २०१३ मा भएको थियो । राजदूत सिरिसोर्नले नेपाल र थाइल्याण्डबीचको लामो सम्बन्धलाई सम्मान गर्न र चलचित्रको विश्वव्यापी भाषामार्फत थाई र नेपाली जनतालाई नजिक ल्याउन फेस्टिभलको आयोजना गरिएको बताए । साथै, उनले भविष्यमा पनि यो फेस्टिभल निरन्तर आयोजना गरिने जनाए ।

यस फेस्टिभलमा थाई चलचित्र बजारमा प्रशंसित र पुरस्कार विजेता ६ वटा चलचित्रहरू प्रदर्शन गरिनेछन् । दर्शकहरूले कमेडी, रोमान्स, र हरर श्रेणीका चलचित्रहरूको आनन्द लिनुका साथै निःशुल्क थाई खानाको स्वाद समेत चाख्न पाउनेछन् ।

फेस्टिभलको उद्घाटन भदौ १४ गते साँझ ५ः३० बजे ‘हाउ टु मेक मिलियन्स बिफोर ग्रान्डमा डाइज’ चलचित्रको प्रदर्शनसँगै हुनेछ। त्यसपछि सोही साँझ ‘प्याड थाई द मुभी’ देखाइने छ । भदौ १५ गते मध्यान्ह १२ः१५ बजे ‘टुगेदर द मुभी’ र दिउँसो ३ बजे ‘अन्डरटेकर’ प्रदर्शन हुनेछ । अन्तिम दिन भदौ १६ गते साँझ ५ः३० बजे ‘ड्रिम अ लिटिल ड्रिम’ र त्यसपछि साँझ ७ बजे ‘ब्रोकन सोर्ड हिरो’ चलचित्र प्रदर्शन हुनेछ। फेस्टिभलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।