बागमतीका १३ जिल्लामा कांग्रेस–एमाले संयन्त्र विस्तार गरिने, आलोपालो नेतृत्व
काठमाडौं, २६ कात्तिक । सत्ता सहयात्री नेपाली कांग्रेस र नेकपा एमालेले बागमती प्रदेशका १३ वटै जिल्लामा संयन्त्र बनाउने भएका छन् ।
दुवै दलका जिल्ला तहसँग समन्वय गरी यथाशीघ्र संयन्त्र निर्माण गर्ने भनिएको छ ।
आज (आइतबार) ललितपुरमा बसेको कांग्रेस र एमालेको बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रले उक्त निर्णय गरेको हो ।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट बागमती प्रदेश सभापति इन्द्रबहादुर बानिया, बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र बागमती प्रदेश उपसभापति चन्द्र महर्जन उपस्थित थिए । यसैगरी, नेकपा एमालेको तर्फबाट बागमती प्रदेश इन्चार्ज राजन भट्टराई र बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल सहभागी थिए ।
संयन्त्रको सचिवालयमा कांग्रेस र एमालेका तर्फबाट एक–एक जना सदस्य रहने पनि बैठकले निर्णय गरेको छ । संयन्त्रको नेतृत्व एक–एक महिना आलोपालो गर्ने निर्णयसमेत सो बैठकले गरेको सचिव राजु नेपालले जानकारी दिए । उनका अनुसार २०८१ साल मंसिर मसान्तसम्मको बैठकको संयोजन नेपाली कांग्रेसले गर्नेछ ।
संयन्त्रको बैठक महिनामा कम्तिमा एक पटक अनिवार्य बस्ने जनाइएको छ । आगामी बैठक मंसिर ३ गते बागमती प्रदेश मुख्यमन्त्रीको कार्यालय हेटौंडामा बस्ने तय गरिएको छ ।
उक्त बैठकले बागमती प्रदेश सरकार बनेपछिको एक सय दिनको उपलब्धि र आगामी कार्यक्रमका बारेमा जानकारी लिने उनले बताए ।