कर्जन्हाका पूर्वमेयर र प्रशासकीय अधिकृतसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

कर्जन्हाका पूर्वमेयर र प्रशासकीय अधिकृतसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

जनकपुरधाम, ३० कात्तिक । सिराहाको कर्जन्हा नगरपालिकाका पूर्वमेयर र प्रमुख प्रशासकीय अधिकृतलगायत पाँचजना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । 

विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्व मेयर पासमान, प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादवलाई दोषी ठहर गरेको हो ।

उनीहरुले नगरपालिकाको प्रशासनिक भवन निर्माणमा भ्रष्टाचार गरेको अदालतको ठहर छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ चैत ०८० मा उनीहरूविरुद्ध आर्थिक हानि–नोक्सानी पुर्‍याएको आरोपमा मुद्दा हालेको थियो । 

अख्तियारले बिगो दाबी गरेको १ करोड ८ लाख रुपैयाँ असुलका लागि जनही २१ लाख ६० हजार रुपैयाँ भराउने फैसला समेत गरेको छ ।

सबैको सजाय १० मंसिरमा निर्धारण गरिने समय अदालतले तोकेको छ । अदालतका सूचना अधिकारी रेग्मीका अनुसार उनीहरुमाथि कानुन बमोजिम २ वर्ष ६ महिनादेखि ४ वर्षसम्मको कैद सजाय हुन सक्छ ।