गौशालाका अतिक्रमित संरचनामा हटाउन अवरोध गर्ने सुमन सायमीसहित ४ जना पक्राउ

गौशालाका अतिक्रमित संरचनामा हटाउन अवरोध गर्ने सुमन सायमीसहित ४ जना पक्राउ

काठमाडौं, ३० कात्तिक । गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । 

गौशाला प्रहरी वृतका डीएसपी सुकदेव खनालका अनुसार,  गौशाला क्षेत्रको अतिक्रमित संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि सायमीसहितका युवाहरू अवरोध गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । 

चक्रपथ सडक सीमा २५ मिटरभित्र निर्माण गरिएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाइएको छ ।

काठमाडौँ महानगरपालिकाले अतिक्रमित संरचना हटाउन थालेपछि केहीबेर तनावको स्थिति समेत बनेको थियो ।

चक्रपथ सडक विभाग मातहत रहे पनि सडक सीमा अतिक्रमण भएकाले स्थानीय सरकारका रूपमा महानगरले अग्रसरता लिएर हटाउन थालेको हो । 

डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सडक विभागको सहमति रहेको जनाएका थिए ।