रविलाई पोखरा ल्याइयो, कास्की प्रहरी कार्यालय बाहिरबाट ७ जना पक्राउ
पोखरा, ३० कात्तिक । सहकारी ठगी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई रुपन्देहीमा बयान गराएर जिल्ला प्रहरी कार्यालय लैजाँदै गर्दा नाराबाजी गर्न लागेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लामिछानेलाई प्रहरी कार्यालय लैजाँदै गर्दा कार्यालय बाहिर नाराबाजी गर्न लागेका ७ जना रास्वपा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माका अनुसार, निषेधित क्षेत्रभित्र नाराबाजी गर्न थालिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रशासनले प्रहरी कर्यालय रहेको गैह्रापाटन क्षेत्र र सहिदचोक आसपासको क्षेत्रलाई निषेधित क्षेत्र कायम गरेको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा बिहीबार अबेर साँझ बयान सकिएपछि आज (शुक्रबार) रवि लामिछानेलाई पोखरा ल्याइएको हो‍ ।