राष्ट्रिय सहमतिमा शान्ति प्रक्रिया टुंग्याइने
काठमाडौँ, २२ मङ्सिर । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक भएकाले सहमतिमा नै त्यसलाई निष्कर्षमा पुर्याइने बताएका छन्।
एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक समाजबिच एकता घोषणा सभा तथा प्रथम राष्ट्रिय परिषद् बैठकमा उनले अन्तिम चरणमा पुगेको शान्ति प्रक्रियालाई टुंग्याउन राष्ट्रिय एकता र सहमति अपरिहार्य भएको बताए।
'अध्यक्ष दाहालले अन्तिम चरणमा पुगेको शान्ति प्रक्रियालाई राष्ट्रिय सहमतिबाटै टुंगोमा पुर्याउनुपर्छ,' उनले भने। एकता प्रक्रियामा जोडिएका शिक्षकलाई स्वागत गर्दै उनले यसले बृहत् एकताको बाटो फराकिलो बनाउने बताए।
आफू प्रधानमन्त्री भएका वेला विद्यालय शिक्षा विधेयक संसदमा दर्ता भएको जानकारी दिँदै उनले यसलाई पारित गराउन फेरि एकपटक सबैले बल गर्नुपर्नेमा जोड दिए। 'विधेयक अझै पूर्ण नभएको भनी शिक्षक आन्दोलन भइरहेको छ, शिक्षकका माग समेटेर संशोधित विधेयक संसद्को आउँदो अधिवेशनबाट पारित गर्नुपर्छ,' उनले भने। यो विधेयक पारित गराउन आफूले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे।
एकीकृत अखिल नेपाल शिक्षक संगठन र शिक्षक समाजबिच एकता
सो अवसरमा माओवादी केन्द्रको विचारसँग सहमत भएका शिक्षकहरूको संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल समाजवादी पार्टीनिकट शिक्षक समाजबिच एकता घोषणा गरिएको छ। समाजका सबै तहका कमिटी संगठनमा समाहित भएका छन्।
संगठनका अध्यक्ष शंकर अधिकारी र समाजका अध्यक्ष ठाकुरनाथ गौतमले एकता घोषणा गरे। सो क्रममा दुवै संगठनका केन्द्रदेखि स्थानीय तहसम्मका सबै कमिटीबिच एकता भएको घोषणा गरिएको थियो।
संगठनका अध्यक्ष अधिकारीले शिक्षक अधिकारका निम्ति एकता आवश्यक भएको बताए। समाजका अध्यक्ष गौतमले शैक्षिक आन्दोलनलाई अघि बढाउन एकताबद्ध पहलको खाँचो औँल्याए।