प्यालेस्टाइनीमाथि इजरायलले नरसंहार गरेको छ, सबैले आवाज उठाऔँः प्रचण्ड
काठमाडौँ, २४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इजरायलले प्यालेस्टाइनी नागरिकमाथि नरसंहार गरेको भन्दै बिरोध जनाएका छन् ।
आज (सोमवार) काठमाडौंको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियानको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका उनले यस्तो बताएका हुन् ।
उनले इजरायलद्वारा प्यालेस्टाइनमाथिको ज्यादतीका बिरुद्ध विगतदेखि नै विश्वव्यापी रुपमा आवाज उठ्दै आएको बताए । प्रचण्ड अहिले पछिल्लो चरणमा प्यालेस्टाइनको गाजामा भएको अत्याचार, नरसंहारको बिरोध गरे ।
संयुक्त राष्ट्रसंघमा यसको बिरुद्धमा पटक पटक प्रश्तावहरु पारित हुने गरेको भएपनि इजरायलले अटेर गरेर प्यालेस्टाइनमाथि आक्रमण गरिरहेको बताए ।
७ अक्टोबर २०२३ मा इजरायलले गाजामा आक्रमण गरेको थियो । तत्कालीन समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल नै थिए । अहिले २०२४ को डिसेम्बर ९ मा आएर तत्कालीन प्रधानमन्त्री दाहालसहितका नेताहरुले गाजामाथिको आक्रमण रोक्नुपर्ने मागसहित हस्ताक्षर अभियान शुरु गरेका हुन् ।