रवि लामिछानेलाई काठमाडौं हुँदै वीरगञ्ज लगियो

रवि लामिछानेलाई काठमाडौं हुँदै वीरगञ्ज लगियो

काठमाडौं, २४ मंसिर । सहकारी रकम अपचलन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई वीरगञ्ज लगिएको छ ।

सोमबार लामिछानेलाई पोखराबाट काठमाडौं र काठमाडौंबाट बुद्ध एयरको विमानबाट सिमरा पुर्‍याइएको हो । सिमराबाट उनलाई गाडीमार्फत वीरगञ्ज पुर्‍याएको हो ।

यसै प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट वीरगञ्ज लगिसकिएको छ ।

रविसहित १४ जनाविरुद्ध सानोपाइला सहकारीको अनियमितता बारेमा १९ मंसिरमा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो  ।

यो सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन् । तत्कालिन वीरगञ्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत गरेका थिए ।