दुर्गा प्रसाईंविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान
काठमाडौं, २४ मंसिर । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान सुरु गरिने भएको छ ।
केन्द्रीय साइबर ब्यूरोबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लगेर प्रसाईंमाथि सोमबारबाट अनुसन्धान गर्न थालेको हो ।
सीआईबी स्रोतका अनुसार, सोमबार नै सरकारी वकिल कार्यालय लगेर बयान लिन सुरु गरेपछि सरकारी वकिल कार्यालयको रायअनुसार उनीमाथि संगठित अपराधको कसुरमा पनि अनुसन्धान अघि बढाइएको छ ।
प्रसाईंमाथि आपराधिक लाभका साथै संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले पुष्टि गरे ।
४ मंसिरमा प्रसाईंलाई सीआईबीले नै भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेर साइबर ब्यूरोलाई जिम्मा लगाएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी गरेको भन्दै विवादास्पद अभिव्यक्ति दिएपछि उनी प्रहरी हिरासतमा पुगेका थिए ।
साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि प्रसाईंलाई सीआईबी लगेर अनुसन्धान सुरु गरिएको हो ।