राष्ट्रपति पौडेलबाट सहकारीसम्बन्धी अध्यादेश जारी
काठमाडौं, १४ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले ल्याएको सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् ।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, अध्यादेश आज (आइतबार) जारी गरेका हुन् ।
गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश प्रस्ताव स्वीकृत गरेको थियो । अध्यादेशले सहकारी संस्थाहरुको नियमनका लागि ‘सहकारी नियमन आयोग’ बनाउने प्रस्ताव गरेको छ ।
पाँच सदस्यीय आयोगमा एकजना अध्यक्षका अतिरिक्त, एकजना विज्ञ, एक चार्टर्ड एकाउन्टेन्ट, सहकारी मन्त्रालयको सहसचिव सदस्य रहने भनिएको छ ।
त्यस्तै, सहकारी विभागका उपरजिष्ट्रार सदस्य सचिव हुने प्रस्ताव समेत गरिएको छ ।
आयोगमा रहने पदाधिकारी सदस्यबाहेकका अध्यक्ष र सदस्यहरुको नियुक्तिको सिफारिसका लागि लोक सेवा आयोगले तोकेको सदस्यको संयोजकत्वमा सिफारिस समिति गठन हुने व्यवस्था पनि अध्यादेशमा गरिएको स्रोतले जानकारी दिएको छ ।