मोहन वैद्यको स्वास्थ्यमा थप समस्या,आईसीयूमा उपचार हुँदै

मोहन वैद्यको स्वास्थ्यमा थप समस्या,आईसीयूमा उपचार हुँदै

काठमाडौं, १४ पुस । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणलाई स्वास्थ्यमा समस्या बढेपछि आईसीयू कक्षामा भर्ना गरिएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार, गत १५ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यको शुक्रबार स्वास्थ्यमा समस्या थप भएपछि आईसीयूमा सारिएको हो ।

‘शुक्रबार साँझबाट घ्याँरघ्याँर बढेको थियो । त्यसपछि आईसीयूमा राखेर उपचार गराइरहेका छौं,’ ती चिकित्सकले भने ।

सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आईसीयूमा वैद्यको उपचार भइरहेको उनले जानकारी दिए । त्यसअघि उनलाई अस्पतालको एनेक्स टु क्याबिनमा राखिएको थियो ।  ७८ वर्षीय वैद्यको छातीमा संक्रमण र दमको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

‘उहाँको १५ वर्षदेखि नै दमको पुरानो समस्या हो,’ ती चिकित्सकले भने,  ‘अहिले अवस्था स्थिर छ । आइतबार दिउँसोबाट केही सुधारोन्मुख दिएको छ । श्वासप्रश्वास सहज महसुस गर्नुभएको छ ।’

अघिल्ला वर्षहरुमा पनि उनको समस्या बल्झिंएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो ।