चाक्चाकुर पर्व मनाउँदै कुलुङ समुदाय
काठमाडौँ, १५ पुस । आदिवासी कुलुङ समुदायको प्रमुख पर्व चाक्चाचुर पर्व आजदेखि सुरु भएको छ । कुलुङ समुदायको बाहुल्य रहेको क्षेत्रमा आजदेखि तीन दिनसम्म उक्त पर्व मनाउन लागिएको हो ।
कुलुङ समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्ला सोलुखुम्बु, सङ्खुवासभा, भोजपुर, धनकुटालगायत क्षेत्रमा उक्त पर्व मनाउन लागिएको हो । यसका अलावा सुनसरी, झापा, इलाम, पाँचथर, काठमाडौँलगायत कुलुङ समुदाय बसोबास गरेका क्षेत्रमा समेत यो पर्व मनाउन लागिएको हो ।
उँधौलीको समयमा आफ्ना पितृ र प्रकृतिलाई पुज्दै यो पर्व मनाउने गरिएको छ । यो पर्वका अवसरमा चुला खन्याउने, नयाँ अन्न बाली पितृलाई चढाएर आशीर्वाद माग्ने र खुसियालीमा कुलुङ सांस्कृतिक नाचहरू नाच्ने गरिन्छ । यस पर्वका अवसरमा ठूलाबडाको हातबाट टीका लगाउने चलन रहेको छ ।
चाक्चाकुर पर्वका अवसरमा सामूहिक खानपान कार्यक्रमहरूको पनि आयोजना गरिन्छ । यस पर्वका अवसरमा कुलुङ समुदायको बाहुल्य क्षेत्रका स्थानीय तहले स्थानीय बिदा दिँदै आएका छन् । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका, सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा यस जातिको बाहुल्य रहेको छ ।
यसैबीच, सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कुलुङ समुदायको नयाँ वर्ष चाक्चाकुर ५०८५ का अवसरमा देशभर रहनुभएका कुलुङ समुदायलाई शुभकामना व्यक्त गरेका छन् ।
मन्त्री खड्काले चाक्चाचुर पर्वले आदिवासी जनजातिका रूपमा रहेका किरात कुलुङ समुदायको भाइचारा र एकतालाई मजबुद बनाउँदै देशको सांस्कृतिक विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले चाक्चाचुर पर्वले किरात कुलुङ समुदायको सर्वोपरि हित होस् भन्ने कामनासहित हार्दिक शुभकामना व्यक्त गरेका छन् ।