सूर्यदर्शन सहकारी ठगी : रवि लामिछाने सहितविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु
पोखरा, १६ पुस । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित ७ जनाको बयान सकिएको छ ।
मंगलबार रविसहित मुद्दा दर्ता भएका सात जनाकै बहस सकिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । आजैबाट थुनछेक बहस पनि सुरु हुने खनालले बताए ।
उनका अनुसार, लामिछानेसहित गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशी, जीबीका साझदोर लिला पछाईं, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्व सञ्चालक कृष्णबहादुर गुरूङको बयान लियएको हो ।
सबै प्रतिवादीहरूको बयान सकिएसँगै आजैबाट थुनछेक बहस थालिएको हो । सहकारीको रकम हिनामिनाको अभियोमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले दायर गरेको थियो ।
उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर गरिएको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । रविसहित १९ जनाविरुद्ध संगठित अपराधमासमेत मुद्दा चलाइएको छ ।
सरकारी वकिलको कार्यालयले लामिछानेसहित खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको जानकारी दिएको छ ।