बसको ठक्करबाट सर्लाहीमा सशस्त्र प्रहरीका इन्सपेक्टरको मृत्यु

बसको ठक्करबाट सर्लाहीमा सशस्त्र प्रहरीका इन्सपेक्टरको मृत्यु

जनकपुरधाम, १७ पुस ।  सर्लाहीमा बसको ठक्करबाट सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको मृत्यु भएको छ ।

मंगलबार राति करिब सावा ९ बजेको समयमा सर्लाहीको बलरा नगरपालिका–९ बिओपी छतौनाको कार्यालय अगाडी बा प्र ०१–००६ ख २००४ नम्बरको बसको ठक्करबाट बिओपी छतौनामा कार्यरत ४२ वर्षीय प्रहरी निरीक्षक विजयकुमार तुलाधरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपककुमार श्रेष्ठका अनुसार बसको ठक्करबाट घाइते भएका तुलाधरलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पठाईएकोमा राति १० बजेर ५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए।

सशस्त्र प्रहरी निरीक्षक तुलाधरलाई ठक्कर दिने बस, बसको चालक, सहचालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाइएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठले बस घटना स्थलमै रहेको र सर्लाहीका एसपी, प्रमुख जिल्ला अधिकारीको कमाण्डमा सोको सहितको टोली घटना स्थलमा रहेको जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।