नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीको आन्दोलनप्रति ट्रेड युनियन कांग्रेसको समर्थन

नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीको आन्दोलनप्रति ट्रेड युनियन कांग्रेसको समर्थन

काठमाडौँ, १७ पुस ।  संस्था लर्ड बुद्ध एजुकेशनल एकेडमी लिमिटेड सञ्चालक रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी एवं स्वास्थ्यकर्मीहरूको माग र आन्दोलनप्रति नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले समर्थन जनाएको छ ।

बुधबार ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले एक विज्ञप्तिमार्फ आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् ।

‘नेपालगञ्ज मेडिकल कलेजमा क्रियाशील रहेका कर्मचारी संघ, कर्मचारी संगठन र स्वास्थ्यकर्मी युनियनको तर्फबाट संयुक्त रुपमा राखिएका मागप्रति यस महासंघको ध्यानाकर्षण भएको छ । नेपाल ट्रेड युनियन काँग्रेस संयुक्त रुपमा राखिएका उक्त माग प्रति ऐक्यवद्धता जाहेर गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

‘कर्मचारी आन्दोलन र आन्दोलनमा राखिएका मागका सम्बन्धमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत ध्यानाकर्षण भई प्रतिष्ठान, सरकारी अस्पताल, मेडिकल कलेज, सामुदायिक, निजी अस्पतालमा कार्यरत कर्मचारीहरुको न्यूनतम पारिश्रमिक, सेवा सुविधा, अतिरिक्त भत्ता, करार नियुक्ति तथा सम्झौताका विषयमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मिति २०८१/०८/२७ गते सचिव स्तरीय निर्णय समेत भइसकेको अवस्थामा नेपालगञ्ज मेडिकल कलेजलाई सो निर्णय कार्यान्वयन गर्न र कर्मचारीहरुको मागको विषयमा व्यवस्थापन पक्ष र क्रियाशील कर्मचारी संघ, संगठन र स्वास्थ्यकर्मी युनियनको प्रतिनिधिका बीच वार्ता र छलफलको माध्यमबाट समाधान गरी सेवारत कर्मचारीहरुलाई सहज रुपमा काममा फर्कने वातावरण सिर्जना गर्न नेपाल ट्रेड युनियन काँग्रेस व्यवस्थापन पक्षसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, ट्रेड युनियन कांग्रेसले आइएलओ महासन्धीले प्रत्याभूत गरेको सामुहिक सौदावाजीको हक र श्रमिकको माग पूरा गर्न हडताल गर्ने अधिकारलाई कुण्ठित गर्न नपाइने पनि जनाएको छ ।

करिब १ हजार ५ सय कर्मचारी रहेको सो शिक्षण अस्पतालमा केही दिनदेखि विभिन्न ५४ बुँदे माग राखेर कर्मचारीहरु आन्दोलनरत छन् । आन्दोलनरत कर्मचारीले अस्पतालको ओपिडि समेत ठप्प पारेर अन्दोलन चर्काउँदै आएका छन । उनीहरूको आन्दोलनका कारण दैनिक ८ सय विरामीहरु सेवा लिन बञ्चित भएको अस्पताल प्रशासनले दाबी छ ।