सार्वजनिक निजी साझेदारीमा ५ अर्बको लागतमा बाह्रबिसे–लामाबगर प्रसारणलाइन बन्ने
काठमाडौं, १८ पुस । लामाबगर–बाह्रबिसे २२० किलोभोल्ट प्रसारणलाइन सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा बनाइने भएको छ ।
राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेले पीपीपी मोडलमा निर्माणका लागि आशयपत्र माग गरेको छ । निजी ऊर्जा प्रवर्धकहरुसँगको सहकार्यमा यो प्रसारणलाइन निर्माण गर्न लागिको हो ।
ल्याप्चे खोला र रोल्वालिङ खोला (तामाकोसीका सहायक नदी) करिडोर जलविद्युत आयोजनाहरुका लागि साझा प्रसारण लाइन निर्माण गर्न लागिएको हो । इच्छुक कम्पनीहरुले १५ दिनभित्र आशयपत्र पेस गर्न सक्नेछन् ।
हालै राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले तमोर–ढुंगेसाँघु २२० केभी प्रसारणलाइन पीपीपी मोडलमा निर्माणका लागि निजी क्षेत्रसँग एमओयु गरेर कम्पनी दर्ता गर्ने प्रक्रिया अघि बढाएको छ ।
पुस २ गते राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) र निजी क्षेत्रका ६ वटा प्रवर्धक कम्पनीबीच एमओयु भएको थियो ।
उत्पादन अनुमति पाए पनि अहिलेसम्म निजी क्षेत्रले प्रसारणलाइन निर्माणको अनुमति प्राप्त गरिसकेको छैन ।
सरकारले २०३० मा १३ हजार मेगावाट र ३०३५ मा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गरि त्यसलाई प्रसारण, वितरण, उपभोग र निर्यातको एकीकृत नीति अबलम्बन गरेको छ ।
२०३० सम्ममा ६ खर्ब रुपैयाँ, २०३५ सम्ममा ७ खर्ब रुपैयाँ र २०४० सम्ममा ९.१ खर्ब रुपैयाँ प्रसारणलाइन निर्माण तथा विस्तारका लागि आवश्यक छ । जलविद्युत् आयोजनाहरुको उत्पादन मिति तय भए पनि प्रसारणलाइनको अभावमा खेर जाने अवस्था छ ।
सरकारको यहि मान्यताअनुरुप, राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले आफूले अध्ययन गरी तयारीमा रहेका आयोजना मध्ये तमोर–ढुंगेसाँघु २२० केभी प्रसारण र लामाबगर बाह्रबिसे २२० केभी प्रसारणलाइन सार्वजनिक निजी लगानीमार्फत बुट मोडेलमा निर्माण गर्न लागिएको हो ।
नासा हाइड्रोपावरले निर्माण गरिरहेको १६० मेगावाट लाप्चे खोला जलविद्युत् आयोजना ह्विलिङ चार्ज तिरेर ग्रीड कम्पनीको प्रसारण प्रणाली प्रयोग गरेर राष्ट्रिय प्रणालीमा समाहित हुन तयार भएको छ । कम्पनीले ४५६ मेगावाटको माथिल्लो तामाकोसीभन्दा माथितिर आयोजना निर्माण गरिरहेको छ।
८८ मेगावाटको रोल्वालिङ खोला, ४० मेगावाटको लाप्चे, सानिमाले जुम हाइड्रोपावर मार्फत जुम खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । ग्रीड कम्पनीले गरेको एक अध्ययनले ५ वटा आयोजनाले निर्माणाधीन जलविद्युत् आयोजनाले छुट्टा छुट्टै प्रसारणलाइन निर्माण गरेर प्रणालीमा आउँदा २१९ किमी प्रणाली निर्माण गर्नुपर्छ । १३५ किमी प्रसारणलाइनको दूरी घट्दा निजीको १ अर्ब ६२ करोड रुपैयाँ बचत हुन्छ ।
लामाबगर–बाह्रबिसे प्रसारणलाइन २०२७ मा सक्ने लक्ष्य छ । उक्त समयसम्म २र३ वटा आयोजनाले उत्पादन थाल्नेछन् । प्रसारणलाइन तयार नभए खेर जाने अवस्था छ । आयोजनालाई स्रोतको अभाव भएको छ ।
प्रसारणलाइन निर्माणमा सरकारले पर्याप्त लगानी गर्न सकेको छैन । निजी क्षेत्र आकर्षित हुने मोडालिटी समेत तय हुन सकेको छैन । उत्पादन बढ्दो भएपनि प्रसारणलाइन नहुँदा प्रणालीमा आउन पाएका छैनन् भने निर्माणाधीन आयोजनाहरुका लागि समेत प्रसारण प्रणालीको अभाव छ । उत्पादनमा मात्रै ध्यान दिएको सरकारले प्रसारण र वितरण प्रणाली निर्माणमा पर्याप्त ध्यान दिन सकेको छैन ।
बाह्रबिसे लामाबगर प्रसारणलाइन निर्माणका लागि सबस्टेसनसहित ५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।