पूर्वउपराष्ट्रपति पुन माओवादी स्थायी समिति बैठकमा उपस्थित
काठमाडौं, १८ पुस । नेकपा (माओवादी केन्द्र) स्थायी समितिको बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक सुरु भएको हो ।
माओवादीका नेताहरूका अनुसार, बैठकमा आगामी २१ पुसदेखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारीबारे छलफल हुनेछ ।
आजको बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी भएका छन् । पुन यसअघि पनि माओवादीका बैठकहरूमा सहभागी हुँदै आएका थिए ।
यपद्यी, पार्टी बैठकमा सहभागी भएका तस्वीरहरू सार्वजनिक गरिएको थिएन । आजको बैठकमा पुन सहभागी भएका तस्वीर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले सार्वजनिक गरेको छ ।
पुनलाई माओवादीले उपाध्यक्ष बनाउने तयारी रहेको माओवादी स्रोत बताउँछ ।
नन्दकिशोर पुन नेपालको दोस्रो र तेस्रो उपराष्ट्रपति हुन् । ७ वर्ष उपराष्ट्रपतिको भूमिका निर्वाह गरेका नन्दकिशोर पार्टी राजनीतिमा सक्रिय हुन खोजिरहेका छन् । उनकै चाहनाअनुसार पार्टीले भूमिका दिन खोजिएको माओवादी नेताहरू बताउँछन् ।