आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री
काठमाडौँ, १८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको उन्नयनले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको नेपाल संस्कृत विश्वविद्यालय सभाको ७७औँ बैठकमा कुलपति ओलीले संस्कृत शिक्षाले समाजको विकासका सन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले विज्ञानसँग जोड्दै यसको संरक्षण, खोज र अनुसन्धानमा सरकारले ध्यान दिने बताए ।
प्रधानमन्त्री ओलीले नेपालको आधुनिक शिक्षा विकासको जगमा रहेको संस्कृत शिक्षाले राजनीतिक जागरण सृजना गर्ने काममा पनि योगदान दिएको र वेदको अर्थ पनि विज्ञान भएकाले यस शिक्षालाई अगाडि बढाउन विश्वविद्यलयले अगुवाइ गर्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले अहिलेको सरकारले विश्वविद्यालयका भौतिक सम्पतिको रक्षा र स्वर्गद्वारी गुठीलगायत छरपस्ट रहेका जग्गाको उचित जगेर्ना गर्ने पनि स्पष्ट गरे ।
बैठकले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक शैक्षिक कार्यक्रम तथा आय व्यय (बजेट) पारित गरेको थियो ।