सबैको सहमति र समन्वयबाट संविधान संशोधन गर्नुपर्छः अध्यक्ष यादव

सबैको सहमति र समन्वयबाट संविधान संशोधन गर्नुपर्छः अध्यक्ष यादव

खजुरा (बाँके), १८ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान विज्ञसहितको आयोग बनाएर संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

अवधि पत्रकार सङ्घ नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले संविधान विज्ञद्वारा प्राप्त सुझावका आधारमा सबैको सहमति र समन्वयबाट संविधान संशोधन गर्नुपर्ने उल्लेख गरे ।

अध्यक्ष यादवले समानुपातिक समावेशी प्रतिनिधित्वलाई खुम्च्याउने गरी संविधान संशोधन गर्न नहुने धारणा राखे ।  उनले भने, “सबैले अपनत्व लिने गरी, सङ्घीयता, गणतन्त्र र समावेशितालाई बलियो बनाउने किसिमले सबैको सहमति र  समन्वयबाट  मात्रै  संशोधन गर्नुपर्ने  आवश्यकता छ ।” 

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले देशमा बढ्दै गएको राजनीतिक अस्थिरताले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताए। उनले भने, “गणतन्त्र र सङ्घीयताको रूपमा प्राप्त भएका उपलब्धिलाई संथागत गर्न सकिएन भने २००७ सालमा भएको परिवर्तन २०१७ सालमा गुमेजस्तै नहोला भन्न सकिँंदैन । त्यसैले उपलब्धिलाई संस्थागत गर्न सबै एकजुट हुनु जरुरी छ ।” 

अवधि पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा जसपा नेपालका केन्द्रिय सचिव एवं नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, स्थानीय नेतालगायत सञ्चरकर्मीको उपस्थिति थियो ।