माओवादी केन्द्रीय समिति बैठक : उपाध्यक्षको कुर्सीमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन
काठमाडौं, २१ पुस । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक जारी छ । आजदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठकमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पनि उपस्थित भएका छन् । उनी यसअघि पनि पार्टी बैठकमा सहभागी भएका थिए ।
केन्द्रीय समिति बैठकमा सहभागी पुन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै लहरमा देखिएका छन् । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव अघिल्लो लहरमा बसेका छन् भने उपमहासचिवहरू पछिल्लो लहरमा छन् ।
पुन बस्ने ठाउँअघि उपाध्यक्षको ‘नेमप्लेट’ राखिएको छ । बैठकमा मिलाइएको कुर्सी व्यवस्थापन अनुसार प्रचण्डपछिको वरीयतामा पुनलाई राखिएको छ । प्रचण्डको दायाँतिर पुन र बायाँतिर नारायणकाजी श्रेष्ठ रहने गरी आसन व्यवस्थापन मिलाइएको छ ।
राष्ट्रपति र उपराष्ट्रपति भएका व्यक्ति सक्रिय राजनीतिमा फर्किनेमा पुन पहिलो भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दैछन् ।
त्यसअघि अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्ने बताइएको छ । यसअघि आजै बिहान स्थायी कमिटी सदस्यहरूले नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्न पार्टी नेतृत्वलई सुझाव दिएका छन् ।