जोगबूढा नदीमा तटबन्ध निर्माण, कुतियाकबरबासीलाई राहत
बेदकोट (कञ्चनपुर), १८ फागुन : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरस्थित जोगबूढा नदीमा तटबन्ध निर्माण गरिएको छ । बाढीले गर्ने कटान नियन्त्रणका लागि तटबन्ध निर्माण गरिएको हो । जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले जोगबूढा नदीमा यस वर्ष दुई सय एक मिटर तटबन्ध निर्माण गरेको छ । कुतियाकबर जोड्ने जोगबूढा नदीमाथिको झोलुङ्गे पुलबाठ दुई सय मिटर नदीमा कटान नियन्त्रणका लागि तटबन्ध गरिएको जनताको तटबन्ध कार्यालय महेन्द्रनगरका इन्जिनियर करुणाकर पन्तले बताउनुभयो । “जोगबूढा नदीमा तटबन्ध निर्माणको काम सकिएको छ”, उहाँले भन्नुभयो, “यस वर्ष महाकाली नदीमा पाँच–छ ठाउँमा तटबन्ध मर्मतको काम हुन्छ ।
” उहाँका अनुसार महाकाली र जोगबूढा नदी मिसिने ठाउँमा करिब आठ सय मिटर तटबन्ध नयाँ निर्माण तथा मर्मत गरिने छ । दोधारा चाँदनी नगरपालिका–१० स्वास्थ्य चौकी नजिक महाकाली नदीमा गत वर्ष डेढ सय मिटरभन्दा बढी तटबन्ध निर्माण भएको थियो । दोधारा चाँदनी–१ स्थित नेपाल–भारत सीमा प्रारम्भविन्दुमा कङ्क्रिट ब्लक निर्माणको काम भइरहेको इन्जिनियर पन्तले जानकारी दिनुभयो । महाकाली र जोगबूढा नदीमा तटबन्ध निर्माण तथा मर्मतका लागि गत वर्ष रु १६ करोड बजेट आएको थियो । सो बजेटमा तटबन्ध निर्माण र मर्मतको काम भइरहेको हो । यसको ठेक्का शङ्कर जोशी जेभीले पाएको थियो । “काम सम्पन्न हुँदासम्म बजेट अपुग हुने सम्भावना छ । त्यसैले बजेट थपका लागि जनस्रोत तथा सिँचाइ विभागलाई पत्राचार गरेका छौँ”, उहाँले भन्नुभयो । जोगबूढा नदीमा तटबन्ध निर्माण भएपछि स्थानीय बासिन्दा खुसी छन् । बर्सेनि कटान र बाढीको चपेटामा पर्ने कुतियाकबरका स्थानीयलाई तटबन्ध निर्माणपछि निकै राहत हुने दोधारा चाँदनी नगरपालिका–१० का अध्यक्ष चन्द्रबहादुर सिंह बताउनुहुन्छ ।
“भारतले जोगबूढामा पानी छाडेपछि तटबन्ध निर्माण गर्न सकिँदैनथ्यो । दुई सातामै तटबन्ध निर्माणको काम सकियो”, उहाँले भन्नुभयो, “यहाँका किसानको खेत कटान तटबन्धले नियन्त्रण गर्ने विश्वास छ ।” दोधारा चाँदनी–१० मा पर्ने कुतियाकबर बस्तीलाई जोगबूढा र महाकाली नदीले घेरेको छ । बर्सेनि यहाँका स्थानीय कटान र बाढीको समस्या झेल्दै आएका छन् । महाकाली र जोगबूढा नदीको कटानले स्थानीय बासिन्दाको जमिन कटान गरेर यहाँबाट विस्थापित हुने अवस्था आएको छ । जोगबूढामा यस वर्ष तटबन्ध निर्माणपछि त्यहाँबाट आउने बाढी र गर्ने कटान नियन्त्रण हुने आशा पलाएको कुतियाकबरका स्थानीय बासिन्दा खड्के बुढाले बताउनुभयो । “जोगबूढामा तटबन्ध निर्माण भएपछि झोलुङ्गे पुल भएर बस्ती पस्ने बाढी र हुने कटान रोकिन्छ”, उहाँले भन्नुभयो, “अझै आठ सय मिटर तटबन्ध निर्माण भए जोगबूढाको समस्या समाधान हुन्थ्यो ।” कुतियाकबरमा नेपाली सेनाले ‘सेफ हाउस’ पनि निर्माण गरिरहेको छ । कुतियाकबरस्थित महाकाली नदीमा तटबन्ध नभएकाले त्यस क्षेत्रबाट कटानको उच्च जोखिम रहेको उहाँले बताउनुभयो । “गत वर्ष महाकालीले दुई बिघा जमिन कटान गर्यो, महाकालीतिर तटबन्ध छैन”, उहाँले भन्नुभयो, “बर्सेनि हुने कटानले गाउँ नै जाने सम्भावना छ । महाकालीमा पनि तटबन्ध निर्माण गरेर कटान रोक्नुपर्छ ।” –––(रासस)