बजेटमाथिको छलफलमा उठेका विषय सम्बोधन गर्न सांसदको जोड
काठमाडाैँ, ११ असारः
सांसदहरुले विनियोजन विधेयक, २०८१ माथिको छलफलका क्रममा उठेका विषय सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद भीमप्रसाद आचार्यले बजेटमाथि सांसदले राखेकोे चासोलाई सम्बोधन गर्न नसक्ने हो भने बजेटमाथिको छलफलको अर्थ नहुने बताउनुभयो । “गत जेठ १५ गते बजेट प्रस्तुत भइरहेदेखि संसद्मा लगातार छलफल भइरहेको छ, असन्तुलित बजेट परिमार्जन हुन्छ कि हुँदैन ?”, उहाँले प्रश्न गर्नुभयो, “बजेटमा छलफल बहस र तर्क गर्ने, तर ‘हुन्छ’, ‘हुँदैन’ भनेर पारित गर्ने हो भने छलफलको अर्थ हुँदैन ।
” सांसद मनबहादुर गुरुङले एक निर्वाचन क्षेत्र एक रणनीतिक योजनालगायत महत्वपूर्ण योजना बेवारिसे अवस्थामा रहेको उल्लेख गर्नुहुँदै पर्याप्त बजेटको व्यवस्था गर्न माग गर्नुभयो । सांसद महेशकुमार बर्तौलाले नेपालको संसदीय अभ्यासका अभिलेखलाई सर्वसाधारणले सहजै प्राप्त गर्ने अवस्था सिर्जना गर्न माग गर्नुभयो ।
सांसद मानवीर राईले वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका २७ नेपाली श्रमिकले उचित पारिश्रमिक नपाएको, रोजगारस्थलमा उचित बसोबासको व्यवस्था नभएको भन्दै यसतर्फसरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मीना यादवले दाइजो प्रथा हटाउन सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । सांसद मेनुकाकुमारी पोखरेलले किसानलाई पर्याप्त रासायनिक मल उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । सांसद मैना कार्कीले मुलुकका विभिन्न स्थानमा भएको विपद्का घटनाबाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनामा ध्यान दिन आग्रह गर्नुभयो । सांसद योगेशकुमार भट्टराईले ताप्लेजुङ जिल्ला अस्पतालको भवन जोखिममा रहेको, चिकित्सक तथा कर्मचारीको आवास बस्न नसक्ने अवस्था सिर्जना भएकाले आवश्यक वैकल्पिक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रघुजी पन्तले सीमा क्षेत्रका नेपालीले भोग्दै आइरहेका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रणेन्द्र बरालीले सुनचाँदीको अवैध कारोबार रोक्न सरकारसँग माग गर्नुभयो ।
सांसद रमा कोइराला पौड्यालले संसद्मा कार्यरत करारका कर्मचारीको सेवासुविधाबारे संसद् सचिवालयले गम्भीर हुनुपर्ने बताउनुभयो । सांसद रामकुमार राईले गाईघाट–दिक्तेल सडकखण्डको तत्काल ठेक्का लगाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रामनाथ अधिकारीले धादिङ जिल्लाको गौरवको आयोजना धादिङबेँसी–साङ्कोस–तिप्लिङ सडक आयोजनालाई रु एक करोड बजेट विनियोजित भएकामा सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
सांसद रामहरि खतिवडाले राजस्व अनुसन्धान विभागको महानिर्देशकको नाम लिएर व्यापारीलाई तर्साउने काम रोक्न र बिचौलियाको खोजी गर्न माग गर्नुभयो । सांसद रामशङ्कर यादवले शून्य समयमा सांसदले राखेका विषयलाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद लीलादेवी बोखिम लिम्बूले ताप्लेजुङमा वर्षाका कारण सडक प्रभावित हुँदा दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या भएकाले सङ्घीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । सांसद बिजुला रायमाझीले एकल महिलालाई भत्ता मात्र नभइ आयआर्जनको उचित वातवरण बनाइनुपर्नेमा जोड दिनुभयो । सांसद मनिष झाले राजदूत पदलाई सस्तो नबनाउन सरकारलाई सुुझाव दिँदै राजदूत नियुक्तिमा असल अभ्यास अवलम्बन गरियोस् भन्नुभयो ।
सांसद रञ्जुकुमारी झाले महिलाले विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेको दृष्टान्त दिँदै नेपालको प्रशासनिक निकायको उच्च पदमा महिलाको नियुक्तिका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद राजेन्द्र बजगाइँले बूढीगण्डकी जलाशयुक्त परियोजना निर्माण प्रक्रियालाई तत्काल अघि बढाउन आग्रह गर्नुभयो । सांसद रामप्रकाश चौधरीले सागरनाथ वन विकास परियोजनाका कर्मचारीले आठ महिनादेखि तलब भत्ता पाउन नसकेको जानकारी गराउँदै उक्त परियोजनालाई मधेस सरकारअन्तर्गत राख्न आग्रह गर्नुभयो ।
राष्ट्रिय समाचार समिति (रासस)