दक्षिण अफ्रिकामा हालसम्मकै पुरानो मानव डिएनए डिकोड

दक्षिण अफ्रिकामा हालसम्मकै पुरानो मानव डिएनए डिकोड


जोहानेसबर्ग, असोज ७ 

अनुसन्धानकर्ताहरूले दक्षिण अफ्रिकामा करिब १० हजार वर्ष पहिलेका दुई व्यक्तिको हालसम्मकै पुरानो मानव जिनोम पुनर्निर्माण गरेका छन् । 

यसले यस क्षेत्रको जनसङ्ख्या कसरी बसोबास गरेको थियो भन्नेबारे राम्रोसँग बुझ्न सकिएको अध्ययनका एक लेखकले आइतबार बताउनुभएको छ । 

केपटाउनबाट करिब तीन सय ७० किलोमिटर पूर्वमा रहेको दक्षिणी तटीय सहर जर्ज नजिकै एक चट्टानको आश्रयस्थलमा भेटिएका एक पुरुष र एक महिलाको अवशेषबाट आनुवंशिक अनुक्रमहरू प्राप्त गरिएको केपटाउन विश्वविद्यालय (युसिटी) का जैविक मानवशास्त्र प्राध्यापक भिक्टोरिया गिब्बनले जानकारी दिनुभयो ।  

ती १३ अनुक्रमहरू ओकहर्स्ट आश्रयमा फेला परेका र एक हजार तीन सयदेखि १० हजार वर्ष पहिले बाँचेका मानिसहरूबाट पुनर्निर्माण गरिएका थिए । यी खोजभन्दा पहिला यस क्षेत्रबाट पुनर्निर्माण गरिएको सबैभन्दा पुरानो जिनोमहरू करिब दुई हजार वर्ष पुराना थिए ।

युसिटीले जारी गरेको विज्ञप्तिअनुसार ओकहर्स्ट अध्ययनबाट सबैभन्दा आश्चर्यजनक खोज के थियो भने सबैभन्दा पुराना जिनोमहरू आजभोलि उही क्षेत्रमा बस्ने सान र खोएखोए समूहहरूसँग आनुवांशिक रूपमा समान थिए । 

“युरोपबाट यस्तै अध्ययनहरूले पछिल्लो १० हजार वर्षमा मानव आवागमनका कारण ठूलो मात्रामा आनुवंशिक परिवर्तनको इतिहास पत्ता लगाएका छन्”, अध्ययनमा सहभागी जर्मनीको लाइपजिगस्थित म्याक्स प्लाङ्क इन्स्टिच्युट फर इभोल्युसनरी एन्थ्रोपोलोजीका जोस्चा ग्रेट्जिङ्गरले भन्नुभयो, “दक्षिणी अफ्रिकाबाट प्राप्त यी नयाँ नतिजाहरू निकै फरक छन् र यसले सापेक्ष आनुवंशिक स्थिरताको लामो इतिहासको सुझाव दिन्छ ।” 

डिएनए डाटाले हाल देखाएअनुसार नयाँ आगन्तुकहरू आइपुगेपछि यस क्षेत्रमा पशुपालन, कृषि र नयाँ भाषाहरू ल्याए र स्थानीय शिकारी–सङ्कलक समूहहरूसँग अन्तरक्रिया गर्न थाले अनि मात्र करिब एक हजार दुई सय वर्षअघि परिवर्तन भयो । 

“संसारका सबैभन्दा पुराना आधुनिक मानवहरूको केही प्रमाणहरू दक्षिणी अफ्रिकामा पाइए पनि यो सामान्यतया राम्रोसँग संरक्षित हुँदैन”, गिब्बनले भन्नुभयो, “प्रविधिले यो डिएनए प्राप्त गर्न सम्भव बनायो ।”

युरोप र एसियामा हजारौँ मानिसको जिनोम पुनर्निर्माण गरिएको भए पनि दक्षिणी अफ्रिकाबाट विशेषगरी बोत्स्वाना, दक्षिण अफ्रिका र जाम्बियाबाट दुई दर्जनभन्दा कम पुराना जिनोमहरू प्राप्त भएका छन् ।

“दक्षिण अफ्रिकामा यस्ता स्थलहरू दुर्लभ छन् र ओकहर्स्टले करिब नौ हजार वर्षको अवधिमा परिदृश्यभर स्थानीय जनसङ्ख्या गतिविधि र सम्बन्धहरूको राम्रो बुझाइ प्रदान गरेको छ”, गिब्बनले भन्नुभयो ।