अमेरिकाले धार्मिक सञ्जाल गठन गरेको भन्दै ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टीले जनायो विरोध

अमेरिकाले धार्मिक सञ्जाल गठन गरेको भन्दै ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टीले जनायो विरोध

काठमाडौं, ६ कात्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकाले अन्तर्राष्ट्रियस्तरमा धार्मिक सम्प्रदायबीच वैमनस्यता सिर्जना गर्ने अभिप्रायले धार्मिक सञ्जाल खडा गरेको बताउँदै विरोध जनाएको   छ ।

संसारभर धर्मको आडमा आफ्नो अभियान सञ्चालन गर्ने नीति अनुसार अमेरिकाले ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता वा आस्था गठबन्धन’ नामको सञ्जाल बनाएको भन्दै नेपाल कम्युनिष्ट पार्टीले विरोध जनाएको हो ।

‘उक्त साम्राज्यवादी नीतिप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । अमेरिकाले जसरी धार्मिक स्वतन्त्रताको प्रचार गरेको छ वास्तवमा त्यो जनताको धर्मप्रतिको स्वाभाविक चिन्ता नभएर कथित अमेरिकी स्वार्थ पूरा गर्न अघि सारिएको धर्मराजनीति हो ।’ पार्टीका अन्तर्राष्ट्रिय विभाग सदस्य खगेश्वर सीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यसले अन्य देशको सार्वभौमिकता, स्वतन्त्रता, आन्तरिक मामिला र मौलिक संस्कृतिमा हस्तक्षेप गर्ने मात्र नभई देशहरूमा अराजकता सिर्जना गर्दै धार्मिक असहिष्णुता निम्त्याउने विज्ञप्तिमा भनिएको छ ।