यू–१९ महिला विश्वकप एसिया छनोट: २२ रनमै अलआउट कुवेत, नेपालको लगातार दोस्रो जित
काठमाडौं, २२ कात्तिक । युएईमा जारी आईसीसी यू-१९ महिला टी–२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज (बिहीबार) कुवेतमाथि १ सय ८ रनले सानदार जित निकालेको छ ।
यस छनोट खेलमा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले हराएको थियो । लगातार दुई जितबाट नेपालले ४ अंक जोड्न सफल भएको छ ।
दुबईस्थित दि सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रनको योगफल तय गरेको थियो ।
१३१ रनको जितको लक्ष्य पछ्याएको कुवेत नेपाली बलिङ सामु टिक्न सकेन । कुवेत १३ ओभरमा सबै विकेट गुमाउँदै २२ रनमै समेटिन पुग्यो ।
कुवेतका लागि कप्तान तथा ओपनर जिफा जिलानीले १२ रन जोड्नबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । कुवेतका ६ खेलाडी खातासमेत नखोली आउट भए ।