उपनिर्वाचनका लागि रास्वपाले खटायो सातै प्रदेशमा नेता

उपनिर्वाचनका लागि रास्वपाले खटायो सातै प्रदेशमा नेता

काठमाडौं, २२ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि नेताहरुलाई प्रदेशगत रुपमा जिम्मेवारी दिएको छ ।  केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले सात नेतालाई प्रदेशगत जिम्मेवारी दिने निर्णय गरेको हो । 

कोशीमा निशा डाँगी, मधेशमा डा. चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिम विष्णुकुमार श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ । 

उम्मेदवार छनोटको कार्यतालिका पनि निर्वाचन परिचालन समितिले तय गरेको छ । उपनिर्वाचन हुने स्थानीय तहअन्तर्गतका स्थानमा रास्वपाबाट उम्मेदवार हुन ईच्छुकले आजदेखि नाम दर्ता सुरु गरिएको केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक गणेश पराजुलीले जानकारी दिए ।  उम्मेदवार हुन इच्छुकका लागि दर्ता अवधि दर्ता २५ कात्तिकसम्मका लागि कायम गरिएको छ । 

२५ कात्तिकको साँझ ८ बजे प्रारम्भिक उम्मेदवारहरुको नामावली सार्वजनिक गरिने रास्वपाले जनाएको छ । प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोधको समय २६ कात्तिकका लागि राखिएको छ । २७ कात्तिकमा उम्मेदवारसँग छलफल र अन्तिम नामावली प्रकाशनको समय निर्धारण गरिएको छ । उम्मेदवारको अन्तिम नामावली २९ कात्तिकमा सार्वजनिक  गरिने रास्वपाले जानकारी दिएको छ ।

आउँदो मंसिर १६ गते देशभर ४४ पदका लागि स्थानीय तहमा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले २ मंसिरमा उम्मेदवारी दर्ताको कार्यतालिका तोकेको छ ।