जलवायु परिवर्तन प्रभावको असर विदेशी पर्यटक चरामा
बेलबारी (मोरङ), २३ कात्तिक :
हिउँद सुरु भएसँगै जाडो छल्न पर्यटक चरा नेपाल आउने गर्छन् । चैत अन्तिमसम्म जाडो छल्न नेपालमा रहने विदेशी पर्यटक चरामा पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव देखिन थालेको छ । जलवायु परिवर्तन प्रभावका कारण आवास परिवर्तन, खाद्य चक्रको परिवर्तन, प्रवासनको समय परिवर्तन, रोग र परजीवीहरूको वृद्धिलगायत समस्याले आगन्तुक चरामा असर पुगेको देखिन्छ । उपयुक्त वातवारण अभावमा आगन्तुक पर्यटक चराको सङ्ख्यामा कमी देखिन थालेको कोशी टप्पु लर्निङ ग्राउण्ड्समा कार्यरत प्राकृतिक पदप्रदर्शक चरा जानकार अनिश तिम्सिना बताउनुहुन्छ ।
“जलवायुको असरसँगै सरकारी निकायबाट चरा तथा वन्यजन्तुको उचित बासस्थान साथै आहाराको व्यवस्थापन आवश्यक छ”, तिम्सिना भन्नुहुन्छ । सिमसारलगायत चराको उपयुक्त बासस्थानमा विभिन्न किसिमका मिचाहा वनस्पतिलाई व्यवस्थित गरी रैथाने प्रजातिका वनस्पतिको संरक्षणमा सबै लाग्नुपर्ने चरा जानकार तिम्सिना बताउनुहुन्छ । खेतबारीमा लगाइएको अन्नबालीमा बढ्दो विषादी प्रयोगले चरालाई सङ्कट बढ्दै गएको हुँदा सबै सरोकारवाला निकायको त्यसतर्फ ध्यान जान जरुरी रहेको तिम्सिनाको भनाइ छ । कोशीटप्पु वन्यजन्तु आरक्ष चराको राजधानीजस्तै मान्ने गरिन्छ ।
देशभरि पाइने आठ सय ९५ चरामध्ये हाल यहाँ पाँच सय ३५ चरा फेला परिसकेका छन् । कोशी बर्ड सोसाइटीको अगुवाइमा भएको जलपक्षी गणना सन् २०२३ मा कोशीटप्पु वन्यजन्तु आरक्षमा ५८ प्रजातिका १३ हजार छ सय ६८ को सङ्ख्यामा चरा आएको तथ्याङ्क छ । “नेपालमा पाइने सबै प्रजातिका चरा पनि वर्षभरि नै नेपालमा रहन्छन् भन्ने हुँदैनन्”, बर्ड वाचिङ क्याम्प कोशी टप्पुका सञ्चालक कुरमान मन्सुरीले भन्नुभयो, “नेपालमा हिउँदमा आउने हिउँदे आगन्तुक र वसन्त ऋतुको आगमनसँगै आउने आगन्तुक पाहुना चराको बसाइँसराइ वर्षभरि नै निरन्तर चलिरहन्छ ।
” कोशी टप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमाझैँ झुण्डझुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको मन्सुरी बताउनुहुन्छ । उहाँका अनुसार कोशीटप्पुकै आसपासको बर्जुताल र मोरङको बेतना सिमसारमा भने अझै पनि पाहुना चरा झुण्डमै आउने गरेको पाइएको छ । मोरङको बेलबारी नगरपालिकास्थित वेतना सिमसार वन उपभोक्ता समितिका अध्यक्ष शम्भु भट्टराईको अनुसार कोशी टप्पुमा आउने प्रायःजसो पाहुना चरा यहाँ पनि आइपुग्छन् । नेपालका विभिन्न भागबाट साथै दक्षिण भारत र साइबेरियासम्मका चरा वेतनामा मज्जाले हेर्न पाइन्छ ।
विशेषगरी मङ्सिरदेखि चैतसम्म विदेशी चरा यहाँ बस्ने गर्छन् । पछिल्लो समय जलवायु परिवर्तन प्रभावका कारणको कारण हुनसक्छ विगतका वर्षहरूमा जस्तो चराको झुण्ड कम देखिन्छ । बेलबारीका जीव विज्ञान जानकार डिल्ली कोइरालाले भन्नुभयो, “उत्तरी ध्रुवमा हिमपात सुरू भएसँगै हिउँदयामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा तालतलैया र नदी आसपासमा हजारौँ पर्यटक चरा बसाइँ सरी नेपालका विभिन्न सिमसार, खोलानालामा आउने गर्दछन् ।” उहाँका अनुसार जलवायु परिवर्तनका कारण चराले प्रवासनको समय परिवर्तन गर्न सक्छ, जसले तिनीहरूको प्रजनन र अवतरणमा असर पार्न सक्ने साथै चरा बस्ने स्थानको तापमान र वर्षापातको ढाँचा परिवर्तन गर्न सक्छ र तिनीहरुको जन्म स्थानमा असर पार्न सक्छ ।
बर्सेनि करिब एक सय ५० प्रजातिका चरा रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेको तथ्याङ्क छ । करिब ५० प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै दक्षिणी मुलुक भारत, पाकिस्तान र श्रीलङ्कातर्फ जाने गर्छन् । जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी ताल, जगदीशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै प्रायः रहने गर्छन् । जाडोयाममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् ।
अन्य प्रजातिमा सिकारी तथा मांसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइ आदि पर्दछन् । दक्षिणी मुलुक र अफ्रिकाबाट हजारौँ ग्रीष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्छन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानमा फर्कन्छन् । यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन् । उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ । नेपाल आउने अन्यमा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि रहन्छन् । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य बासस्थान भने वन र यस आसपासका घाँसेमैदान तथा कृषि भूमि हुन् ।विवेक मिश्र/रासस