कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारी: मेयरमा लड्ने अभियन्ता राजमानको घोषणा, हर्क साम्पाङको समर्थन
काठमाडौं, २३ कात्तिक । आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि सरसफाइ अभियन्ता राजमान मानवले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् ।
नेवाः लहना विश्व सरसफाइ अभियानका संस्थापक राजमान कीर्तिपुर नगरपालिका वडा नम्बर १ का बासिन्दा हुन् । एमाले पृष्ठभूमिका मानव हाल कुनै राजनीतिक दलसँग आवद्ध छैनन् । कीर्तिपुरका सबै बासिन्दाले सरसफाइ कार्यक्रम मार्फत आफूलाई चिनेको उनको दाबी छ ।
मानवलाई धरानका मेयर हर्क साम्पाङले पनि समर्थन गरेका छन् । कीर्तिपुरलाई पार्टीको गढबाट जनताको गढ बनाउन मेयरको उम्मेदवार बन्न लागेको उनको भनाइ छ । सबै दलहरु मिलेर आएपनि पराजित गर्ने उनले दाबी गरे ।
गत निर्वाचनमा कीर्तिपुरको मेयर पद कांग्रेस विजयी भएको थियो । दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा माओवादी केन्द्रका उम्मेदवारले मत ल्याएका थिए ।
कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको निधन भएपछि आगामी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।
कीर्तिपुरको मेयरमा एमालेबाट डा. सुरेन्द्र मानन्धर, माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन र राप्रपाबाट ध्रुव महर्जन उम्मेदवार बनेका छन् । कांग्रेस, रास्वपा लगायत दलले भने उम्मेदवारको टुंगो लगाउन अझैँ बाँकी नै छ ।