आचारसंहिता उल्लंघन गर्दै चुनावी प्रचारमा हिँडेका एमाले सांसद सवार गाडी नियन्त्रणमा

आचारसंहिता उल्लंघन गर्दै चुनावी प्रचारमा हिँडेका एमाले सांसद सवार गाडी नियन्त्रणमा

 बुटवल, १३ मंसिर । कपिलवस्तुको शुद्धोदन गाउँपालिका– मा १ हुने उपनिर्वाचनलाई प्रभावित पार्न खोजिएको भन्दै प्रदेश सांसद एवं नेकपा एमाले नेताहरू चढेको सरकारी गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।

आज (बिहीबार) उक्त वडाको पतरियामा लुम्बिनी प्रदेशसभाको विषेशाधिकार समिति सभापति गिरिधारीलाल न्यौपानेले प्रयोग गर्ने बा १२९७ नम्बरको गाडी स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

सो गाडीमा प्रदेशसभा सदस्य न्यौपाने, एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, पूर्व अध्यक्ष झविलाल पोखरेल लगायत नेताहरू सवार थिए ।

मानव अधिकारकर्मीसमेत रहेका स्थानीय रबी ठाकुरले वडाध्यक्षका उम्मेदवार मोहमद ताहिर मुसलमानको पक्षमा मत माग्दै गरेको अवस्थामा नियन्त्रण लिएर प्रहरीको जिम्मा लगाइएको बताए । 

स्थानीयले गाडी नियन्त्रणमा लिएको भन्ने सूचना पाएपछि प्रहरी पठाएको सहायक निर्वाचन अधिकृत अमर ओलीले बताए ।

गाडी नियन्त्रमा लिएपछि माओवादी केन्द्र र जसपाका समर्थकले नाराबाजी लगाएका थिए । 
आज राति १२ बजेबाट उपनिर्वाचनको मौन अवधि सुरु हुँदैछ ।