पशुपालनबाट मासिक दुई लाख बचत
मध्यविन्दु (नवलपरासी), २८ माघ : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–६ का गङ्गाधर न्यौपाने साँझ, बिहान गोठमा र दिउँसो कक्षा कोठामा व्यस्त रहनुहुन्छ । पेसाले शिक्षक रहे पनि न्यौपानेले विगत चार वर्षदेखि व्यावसायिक पशुपालन गरेर कृषि क्षेत्रमा आफूलाई सफल बनाउनुभएको छ ।
गौरादेवी नवीन कृषि तथा पशु फार्म दर्ता गरी व्यावसायिक पशुपालन गर्नुभएका न्यौपाने कावासोती नगरपालिकाको उत्कृष्ट किसानका रूपमा पुरस्कृत पनि हुनुभएको छ । “छ भैँसीबाट सुरु भएको मेरो व्यावसायिक पशुपालन अहिले २७ वटा भैँसी र गाई भएका छन्”, उहाँले भन्नुभयो, “मासिक ३५ सय लिटर दूध बिक्री गर्ने गरेको छु ।” स्नातकसम्मको अध्ययन पूरा गर्नुभएका ३५ वर्षीय न्यौपानेले दिउँसो कावासोती–४ मा रहेको सरस्वती माविमा अध्यापन गर्नुहुन्छ । पछिल्लो समय कृषि पेसामा युवाको आकर्षण घटेको समयमा उहाँले रु ३५ लाखको लगानीबाट पशुपालन सुरु गरेको बताउनुभयो । “बाबुबाजेदेखि गर्दै आएको पेसालाई मैले व्यावसायिक रूप दिएको हुँ । शिक्षण कार्यबाट बचेको समय सदुपयोग भएको छ”, न्यौपानेले भन्नुभयो, “पशुपालन व्यवसायलाई अझ टिकाउन गत वर्षदेखि आफ्नै दुग्ध डेरी पनि सञ्चालन गरेको छु ।
” पशुको स्याहारसुसारदेखि व्यवस्थापनमा आफैँ घटिने गर्नुभएका न्यौपानेले अहिले दुई जनालाई रोजगारी दिनुभएको छ । बैंकको ऋणबाट सुरु गरेको पशुपालनले अहिले लगानी कटाएर प्रशस्त आम्दानी दिन थालेको न्यौपानेले बताउनुभयो । सबै खर्च कटाएर मासिक रु दुई लाखसम्म बचत हुने उहाँले जानकारी दिनुभयो । विद्यालयमा गणित विषय पढाउने न्यौपानेको अहिले दुई वटा परिचय बनेको छ । बिहान साँझ कृषकको रूपमा परिचय बनाउनुभएका उहाँले दिउँसो शिक्षकको रूपमा पहिचान स्थापित भएको छ । बिहान विद्यालय जानुभन्दा अगाडिसम्म श्रीमतीसहित गोठको काममा खटिने जनाउँदै न्यौपानेले दिउँसोका लागि पनि कामको प्रबन्ध गरेर विद्यालय जाने गरेको बताउनुभयो ।
“बिहान तीन बजे उठेर गोठमा खटिन्छु । १९ वटा गाईभैँसी अहिले दुहुना छन् । श्रीमती र म मिलेर दुहुनदाहान सकेर दूध बिक्रीका लागि लैजान्छाँै”, उहाँले भन्नुभयो, “कावासोती बजारमा दूध डेरी खोलेका छौँ । त्यहाँबाट मासिक सात हजार पाँच सय लिटर दूध बिक्री हुने गरेको छ ।” गाईभैँसीका लागि आवश्यक पर्ने दाना, पराल आफैँले तयार पार्ने गरेको न्यौपानेले बताउनुभयो । करिब तीन बिघा जमिनमा उन्नत जातका घाँस लगाइएको उहाँको भनाइ थियो ।
पराल र हरियो घाँस मिलाएर दानापानी व्यवस्थापन गर्ने गरेको न्यौपानेले बताउनुभयो । पशुपालनमा विगतमा केही समस्या पर्ने गरेको भए पनि अनुभव र योजनाले हिजोआज सहज भएको उहाँको भनाइ थियो । “मसँगै पशुपालन सुरु गरेका नगरपालिका क्षेत्रका ११ जना युवा साथीहरू यो पेसाबाट पलायन भइसक्नुभयो”, न्यौपानेले भन्नुभयो, “सबै कामदार मात्रै लगाएर पशुपालन गर्छु भन्ने हो भने सफल भइदैन । आफू पनि नियमित काममा खटिने हो भने असफल हुनुपर्दैन ।(रासस)