चुलाचुलीका किसान तरुल खेतीतर्फ आकर्षित
फिक्कल (इलाम), २९ माघ : पछिल्लो समय इलाम चुलाचुलीका किसान सिमल तरुल खेतीतर्फ आकर्षित भएका छन् । धान, मकै तथा कोदोलगायत अन्नबाली उब्जनी हुने खेतीयोग्य जमिनमा किसानले तरुल खेती गरेर मनग्य आम्दानी समेत लिन थालेका हुन् । अन्य बालीभन्दा सिमल खेती गर्न सजिलो र आम्दानीसमेत बढी हुने भएकाले त्यसतर्फ किसानको आकर्षण बढेको चुलाचुली गाउँपालिका–५ का किसान मतिराज राईले जानकारी दिनुभयोे । “सिमल खेती गर्न अन्य खेतीभन्दा सजिलो र बढी मेहनत गर्नुनपर्ने भएकाले यसको खेतीतर्फ किसानको आकर्षण बढेको हो”, उहाँले भन्नुभयो ।
थोरै लगानीबाट नै राम्रो आम्दानी लिन सकिने भएकाले यहाँको किसानको रोजाइमा सिमल खेती परेको हो । यहाँका किसानले एकल तथा सामूहिकरुपमा व्यावसायिक सिमल खेती गर्दै आएका छन् । घरमा खाजाका लागि रोपण हुँदै आएको सिमल तरुलको माग पछिल्ला दिनमा बजारमा बढेसँगै व्यावसायिक खेती विस्तार हुन थालेको चुलाचुली–४ का किसान धनबहादुर योगीले बताउनुभयो । “पहिले पहिले सिमल घरमा खाजा खानका लागि मात्र रोप्ने गरिन्थ्यो, तर पछिल्लो समय बजारमा माग बढेपछि अन्य खेती मासेर व्यावसायिक रुपमा नै यसको खेती गर्न थालेका छौँ”, उहाँले भन्नुभयो । उन्नाइस बिघा १३ दशमलव ६ कट्ठा क्षेत्रमा व्यावसायिक सिमल खेती हुँदै आएको चुलाचुली गाउँपालकाको तथ्याङ्क छ । यहाँका धेरै किसानले करेसाबारीमा सिमल खेती लगाएका छन् । यहाँ उत्पादिन सिमल तरुल निर्यातका लागि बजारको कुनै समस्या छैन । सिमल तरुल किन्न स्थानीय व्यापारी किसानको बारीमा नै पुग्ने गरेका छन् ।
व्यावसायिक उत्पादन बढेसँगै सिमल तरुल खरिद गर्न चुलाचुली आउने स्थानीय व्यापारीको सङ्ख्यासमेत बढ्दै गएको योगीले बताउनुभयो । तरुल बजार निर्यातका लागि स्थानीय व्यापारीबाट सङ्कलन हुने गरेको छ । सङ्कलन भएको तरुल व्यापारीमार्फत दैनिकरुपमा झापाको दमक, विर्तामोड, मोरङको उर्लाबारी, सुनसरीको इटहरी र धरानसम्मका बजार पुग्ने गरेको छ । सिमल तरुलको खरिदबिक्री पुस, माघ र फागुनमा बढी हुन्छ । बजारमा यसको माग बढ्दै गएपछि किसानको मुख्य आम्दानीको स्रोतसमेत बन्न थालेको छ । सुगर, प्रेसरलगायत दीर्घरोगीले समेत खान मिल्ने सिमल तरुल किसानको बारीबाट प्रतिकिलो रु ३० देखि ४० मा बिक्री हुँदै आएको छ । तरुल प्रायः बोक्रा तासेर उसिनेपछि खाने गरिन्छ । यसलाई सुकाएर पीठो बनाई रोटी खाने पनि चलन छ ।
आदिवासी जानजाति समुदायले भने स्थानीय रक्सी उत्पादन गरी बिक्रीसमेत गर्दै आएका छन् । तरुल खेती प्रवद्र्धन गर्न चुलाचुली गाउँपालिकाले किसानलाई अनुदान दिँदै आएको छ । चुलाचुलीले गत आर्थिक वर्ष तरुलको व्यावसायिक खेती गर्ने ३८ जना किसानलाई रु १२ लाख २४ हजार दुई सय ९३ अनुदान दिएको थियो । चुरेको फेदीमा रहेको चुलाचुली गाउँपालिकामा तरुल खेतीका लागि उपयुक्त रहेको कृषि विज्ञ टोलीको निष्कर्षपछि चुलाचुली गाउँपालिकाले यस खेतीलाई प्रवद्र्धन गर्न थालेको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुले बताउनुभयो । “उपभोक्ता र बजार बढेसँगै पछिल्लो समय सिमल तरुल खेती गर्ने किसानको सङ्ख्या बढ्दो छ”, उहाँले भन्नुभयो, “फलफूल उत्पादनको प्रथम सूचीमा राखेर सिमल तरुल खेती विस्तार गर्ने योजनामा छौँ ।
” यस वर्ष चुलाचुली गाउँपालिकाले तरुल खेतीलाई व्यावसायिक बनाउन पीठो उत्पादन गर्ने उद्योग स्थापना गर्ने तयारीमा रहेको अध्यक्ष केरुङले जानकारी दिनुभयो । चुलाचुली–२ मा रु ६० लाखको लागतमा पीठो उत्पादन गर्ने उद्योग स्थापना गर्न लागेको उहाँले बताउनुभयो । इलामको १० स्थानीय तहमध्ये चुलाचुली र माङसेबुङ गाउँपालिका एवं माई नगरपालिकाको तल्लो क्षेत्रमा व्यावसायिक तरुल खेती हुँदै आएको छ । –––(रासस)